March 19, 2020

पसगाउँको आकर्षण

  • वेद गुरुङ

Pasgaun Community Homestay

पसगाउँ  (लमजुङ)। झुरुप्प घरहरू, साँझमा बिजुलीको झिलिमिली । हँसिलो अनुहार, मिठो बोली अनि आफ्नै मौलिक जीवनशैली पसगाउँको अनुभूति ।

लमजुङको क्व्होलासोथार गाउँपालिका–६ पैको नासा (पसगाउँ) पुग्ने जो कोहीलाई पनि लाग्ने अनुभूति हो यो । सहरबाट दुरीको हिसाबले धेरै टाढा होइन, तर जीवन शैलीका हिसाबले भने धेरै टाढा छ । यहाँका गाउँले सौहार्दता र आत्मीयतासँगै अर्ग्यानिक खानाले नलोभ्याउने कमै होला ।

गुरुङ समुदायको घना बस्ती रहेको पसगाउँ सहरको धपेडीबाट एक दुई दिनलाई मुक्ति चाहनेहरूको लागि उपयुक्त गाउँको रूपमा रहेको छ । पछिल्लो समय होमस्टेको अवधारणा भित्रिएपछि घुमफिरमा रमाउनेहरूको लागि सहज बनेको छ ।

Pasgaun Community Homestayसमुद्री सतहदेखि १६५० मिटरको उचाइमा रहेको पसगाउँलाई अझै पनि धेरै हिसाबले ‘भर्जिन’ गाउँ भन्दा फरक पर्दैन । सहरीकरणले अझै पनि त्यति धेरै नबिगारिसकेको यो गुरुङ गाउँका घरहरूमा टिनको छानासमेत सीमित छन् ।

गुरुङको बाहुल्यता रहेको, केही भुजेल र दलितको बसोबास रहेको पसगाउँबाट हिमाल त देखिन्न तर पहाडको मनोरम हरियाली दृश्य भने लोभलाग्दो देखिन्छ । त्यसै गरेर सामुन्नेको सिङ्दी गाउँ कम मनमोहक देखिन्न ।

पस गाउँ पुग्ने जो कोहीलाई आकर्षित गर्ने भनेकै झुरुप्प १ सय ६५ घरको गाउँ हो । गाउँमाथीको छोर्तेङबाट हेरौँ वा गाउँको पुछारबाट देखिने घरहरूको अवस्थिति नै यसको आकर्षण हो । भित्र पसेपछि प्राप्त हुने आत्मीयता र आथित्यताले मन पगाल्छ नै ।

समुहिक होमस्टेको विकाससँगै यहाँ आमाहरू खटिएका छन् । गाउँलाई सफा राखिएको छ । हरेक घरमा चर्पीको व्यवस्था गरिएको छ । गाउँभित्रको बाटोमा मान्छेले गरेको फोहोर मात्र होइन, गाईबस्तुले गरेको फोहोरसमेत देखिन्न ।

Pasgaun Community Homestayशान्ति दीप आमा समूहका अध्यक्ष युगदेवी गुरुङका अनुसार गाउँको सरसफाइ तथा पाहुनाको स्वागत सत्कार र खानपानमा आमाहरूको विशेष भूमिका रहेको छ । साथै सांस्कृतिक कार्यक्रमको व्यवस्थापनमा पनि आमा समूहको विशेष भूमिका छ ।

युगदेवीका अनुसार पसगाउँ आउने पाहुनाले पाउने महत्त्वपूर्ण कुरा भनेको स्वच्छ हावा र अर्ग्यानिक खाना हो । आफ्नै खेतमा फलेको झिनुवा धानको भात, गुन्द्रुकको आचार, कोदोको ढिँडो, सिस्नोको खोलेलगायत विभिन्न प्रकारका सागसब्जीहरू सबै गाउँकै उत्पादन हुन् ।

‘सधैँ सबैलाई पुग्छ भन्ने छैन, त्यसैले हामी आफूले बरु बाहिरबाट ल्याएको चामल खान्छौँ । तर, पाहुनालाई हाम्रै खेतको झिनुवा धानको चामल पकाएर खुवाउँछौँ’ उनी भन्छन् । गाउँमा प्रशस्तै मात्रमा भैँसी पालेका कारण दूध, दही र मोहीको पनि अभाव छैन ।

त्यसै गरेर यहाँ गुरुङ संस्कृति देखाइन्छ । कतिपय गाउँहरूमा मौलिक संस्कृतिको अन्त्य भइसकेको भए पनि पसगाउँमा अझै जीवित छ । घाटु, सोरठी, कृष्ण चरित्र, सारांगी नाच, आमा समूहको नाच देखाएर आएका पाहुनाहरूलाई मनोरञ्जनको व्यवस्था गरिन्छ ।

Pasgaun Community Homestayबि.सं. २०६० सालबाटै ग्रामीण विद्युतिकरण परियोजनाले निकालेको ७५ किलोवाट क्षमताको जलविद्युतले पसगाउँलाई उज्यालो दिइरहेको छ । त्यही सालदेखि गाउँमा होमस्टेको सुरुवात भएको पनि हो । उचित प्रचारप्रसारको अभावमा अझै पर्याप्त पाहुना भने आएका छैनन् ।

होमस्टेका लागि कुल २३ घरलाई दर्ता गरिए पनि अहिले १३ घरमा मात्र सञ्चालनमा छ । पस गाउँ सामूहिक होमस्टेका अध्यक्ष बलराम गुरुङका अनुसार ५० जनादेखि ८० जनासम्मका लागि अहिले वासको व्यवस्था रहेको छ ।

पसगाउँमा के हेर्ने?

यसअघि उल्लेख गरे जस्तै पसगाउँमा आउने अगन्तुकका लागि यसको अवस्थिति आफै मनमोहक छ । त्यसपछि यहाँ देखाइने घाटु, सोरठी, कृष्ण चरित्र, सारांगी नाच, आमा समूहको नाच, युवा क्लबको सांस्कृतिक कार्यक्रम सबै रोचक छन् ।

यसका अलावा केही स्थानहरू पनि छन्, जुन घुमफिरमा रमाउनेहरूका लागि रुचिको विषय बन्न सक्छ । पसगाउँ सामूहिक होमस्टेका अध्यक्ष बलराम गुरुङका अनुसार गाउँभन्दा केही तल एउटा ‘भों भों ढुङ्गा’ नाम गरेको ढुङ्गा छ । यो ठुलो ढंगालाई अहिले शङ्ख ढुङ्गाको नामसमेत दिइएको छ । यो ढुङ्गामा गएर फुकेर शङ्खको जस्तै आवाज निकाल्न सकिन्छ । ‘पहिले पहिले यो ढुङ्गा बजाएर वरपरको गाउँलेहरूलाई निश्चित सन्देश दिने गरिन्थ्यो’ बलराम भन्छन् ।

Pasgaun Community Homestayत्यस क्षेत्रमा अरू पनि प्राकृतिक रूपमा बनेका चट्टाने आकृतिहरू छन्, जुन आगन्तुकका लागि रुचिको विषय हुनसक्छ । त्यस मध्ये प्राकृतिक रूपमा बनेको शिव लिङ्ग र कन्दनी गाईको भनिएको पाइला प्रमुख छन् । ‘त्यहाँ ढुङ्गाका त्यस्ता धेरै आकृतिहरू छन्, यसको भूगर्भको अध्ययन गर्नेहरूको लागि रुचिको विषय पनि हुनसक्छ’ उनी भन्छन् ।

गाउँको अर्को आकर्षणको रूपमा घुमाउने घर पनि रहेको छ । यो घरधनी बाल मुकुन्द गुरुङका अनुसार घुमाउने घर बि.सं. १९६५ मा उनका बाजे बखानसिंह गुरुङले बनाएका हुन् । यो घरलाई पनि अहिले होमस्टेको रूपमा विकास गरिएको छ । त्यसैगरी गाउँभन्दा माथिको डाँडाबाट अन्नपूर्णलगायतका हिमश्रृंखलाहरु देख्न सकिन्छ ।

अर्ग्यानिक खाना

पसगाउँ पुग्ने जो कोही पाहुनालाई खोला खेतमा फलेको झिनुवा धानको चामल पकाएर खुवाइन्छ, स्थानीय बगानमा फलेको चिया र अलैँची पनि खुवाउँछन् । त्यसै गरेर विशेष परिकारको रूपमा सिस्नु र वनमा पाइने निउरोलगायतका सागसब्जीहरू खुवाउँछन् । कोदोको सेलरोटी विशेष खालको छ । दूध, दही र मोही, मह पनि स्थानीय रूपमै उत्पादन गरिएका हुन् । आमा समूहका अध्यक्ष युगदेवी गुरुङका अनुसार पसगाउँमा पाहुनालाई खुवाइने सबै चिज स्थानीय तहमा अर्ग्यानिक ढङ्गले नै उत्पादन गरिएका हुन् ।
Pasgaun Community Homestay
त्यहाँबाट अल्लो र भेडाको उनबाट बनेको बस्तुहरू, चिया, अलैँची, चोयाबाट बनेको सामग्रीहरू पनि खरिद गरेर लैजान सकिन्छ ।

पुग्ने बाटो

पस गाउँ पुग्ने तीन वटा बाटाहरु छन् । पोखराबाट सिधै पसगाउँ पुग्न सकिन्छ । कच्ची बाटो भएकोले जम्मा ५२ किलोमिटर भए पनि करिब पाँच घण्टा लाग्छ । हरेक दिन पसगाउँबाट पोखराका लागि एउटा र पोखराबाट पसगाउँका लागि एउटा बस छुट्छ ।

त्यसै गरी अर्को बाटो काठमाडौँबाट दमौली हुँदै लमजुङको करपुटार–रामबजार भएर जाने बाटो छ । यो काठमाडौँबाट जानेका लागि सबैभन्दा छोटो बाटो हो । दमौलीबाट करिब ४ घण्टामा पसगाउँ पुगिन्छ ।

Pasgaun Community Homestayतेस्रो बाटो लमजुङको सदरमुकाम बेंशीसहर भएर जाने हो । वेंशीसहरबाट करिब ४ घण्टामा पुगिने यो बाटो रमाइलो छ । घलेगाउँ भन्दा अलि तलबाट मालिङ हुँदै मिदिम खोला झेरेर फेरी साल्मे हुँदै घाम्राङ डाँडा उक्लिएर जाने यो बाटो अरू भन्दा रमाइलो छ ।

Pasgaun Community Homestay

Pasgaun Community Homestay

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…