दिगो पर्यटन सरकारको प्राथमिकतामा
काठमाडौं । कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानको लागि सरकारले दिगो पर्यटनलाई प्राथमिकता दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को दुवै सदनमा संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा दिगो पर्यटनलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने उल्लेख छ ।
नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा कोभिड–१९ र बाह्य कारणले समेत पारेको प्रभावको अध्ययन गरी पर्यटन पुनरुत्थानलगायत दिगो पर्यटनका कार्यक्रम कार्यान्वयन गरिने उल्लेख गरिएको छ । साथै निरन्तरको वृद्धि भई ११ लाख नाघेको र सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर नेपाल भ्रमण वर्ष आयोजना गरिएपनि कोभिड–१९ का कारण स्थगित गर्न बाध्य भएको उल्लेख छ ।
यसका लािग आगामी वर्ष मुलुकको एक मात्र अन्तर्राष्ट्रय त्रिभुवन विमानस्थललाई पूर्णतः बुटिक विमानस्थलमा रूपान्तरण गरिनेछ भने चालिस वर्षपछि विमानस्थलको धावनमार्गको पुननिर्माण गरिएको उल्लेख छ ।
त्यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी सञ्चालनको पूर्व तयारी गरिनेछ र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिनेछ पनि सरकारको नीित तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै थप आठवटा आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको, आठवटा विमानस्थलबाट रात्रीकालीन उडान तथा अवतरण सुरु भएको, आगामी आर्थिक वर्ष थप दुईवटा आन्तरिक विमानस्थलको निर्माण सम्पन्न गरिने र तीनवटा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने पनि नीित तथा कार्यक्रममा उल्लेख छ । साथै तेह्रथुमको चुहानडाँडा र काभ्रेपलाञ्चोकको उपयुक्त स्थानमा आन्तरिकविमानस्थल निर्माण कार्य अघि बढाइने पनि बताइएको छ ।
सरकारो नीति तथा कार्यक्रममा सम्भाव्य पहाडी र हिमाली क्षेत्रमा अत्याधुनिक सुविधासहितका हिल स्टेशन र पर्यटकीय सेवा सुविधा भएका होटल तथा रिसोर्टका पूर्वाधार विकास गर्न प्रोत्साहित गरिने उल्लेख छ। पर्यटकीय होटेल तथा रिसोर्टहरूसँग अग्र सम्बन्ध विकास गर्ने गरी स्थानीयस्तरमा अर्गानिक कृषि उत्पादनका ठूला फार्म सञ्चालनमा ल्याउन प्रोत्साहन गरिने बताइएको छ ।
लुम्बिनीमा निर्माणाधीन ५ हजार व्यक्ति क्षमताको ध्यान केन्द्र तथा सभाहलको निर्माण सम्पन्न गरी सञ्चालन गरिने लुम्बिनी क्षेत्र विस्तार गर्न बृहत्तर लुम्बिनी अवधारणा कार्यान्वयनमा ल्याइने उल्लेख छ। रामग्राम गुरुयोजना कार्यान्वयन गरिने तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ पनि नीित तथा कार्यक्रममा उल्लेख छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…