अस्पष्ट सरकारी नीतिले समस्या: सरिता लामा, महासचिव–टान
काठमाडौं । सरकारको नीति अस्पष्ट भएका कारण पर्यटन व्यवसायमा समस्या परेको नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) महासचिव सरिता लामाले बताएकी छन् ।
हाइलाइट्स टुरिजमसँगको कुराकानी उनले अगष्ट १६ बाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु खुलाउने भनिए पनि अझै त्यस सम्बन्धि प्रोटोकल नआउँदा सोधपुछ गर्ने क्लाइन्टलाई समेत स्पष्ट जवाफ दिन नसकिएको बताइन् ।
‘उडानहरु खुल्ने कुरा भएपनि त्यसबाट आउने अन्तर्राष्ट्रिय पर्यटकले भिषा कसरी पाउने, सर्तहरु के के हुने, कोरेन्टाइन बस्नु पर्ने/नपर्ने, यहाँ आएर पिसिआर गर्नु परे कतिदिनमा रिपोर्ट आउने भन्ने जस्ता कुराहरुमा नीति आएको छैन’ उनले भनिन्, ‘यस्तो अबस्थामा पर्यटकलाई आउनु भनेर बन्न सक्ने अबस्था नै छैन ।’
यसैकारण पर्यटनसँग सम्बन्धित ट्रेकिङ, ट्राभल्सलगायतका कार्यालयहरु खुले पनि आर्थिक वर्ष सकिएको अबस्था भएका कारण हरहिसाव मिलाउने बाहेक पर्यटकलाई ल्याउने सम्बन्धमा कुनै काम अघि नबढेको पनि उनको भनाई छ ।
नेपालमा कोरोना महामारीको रोकथामका लागि चैत ११ गते लकडाउनु सुरु भएपछि पर्यटकीय गतिविधि शुन्य छ । पर्यटन व्यवसायीका छाता संगठनहरुले संयुक्त रुपमा स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलहरु अपनाएर व्यवसाय खोल्नका लागि अनुरोध गरेपछि सरकारले ति व्यवसायहरु खोल्न अनुमति दिएपनि काम भने हुन सकेको छैन ।
आशै आसमा
टानका महासचिव लामाले पर्यटन व्यवसायीहरु आशै आशमा बाँचिरहेको बताएकी छन् । आउँदो अटम सिजनमा पनि पर्यटक आउने संभावना ज्यादै न्यून छ भने लामा आफ्नै कम्पनीको लागि आउँदो सिजनलाई पर्यटक बोलाउन सकिने अबस्थामा नरहेको बताउँछिन् । ‘इन्केस बिरामी भयो भने कहाँ उपचार गराउने, मै बिरामी भयो भने पाहुनालाई कसरी सेवा दिने, विमाको अवस्था के हुने लगायतका धेरे कुराहरु स्पष्ट नभएको कारण पर्यटकलाई आउ भन्न सक्ने अवस्था छैन’ उनले भनिन् ।
यसो भनिरहँदा पर्यटन व्यवसायी र यससँग आबद्ध लाखौं मजदुरको रोजीरोटीको कुरा आइरहेको छ । त्यसैले कमसेकम सर्भाइभ हुन सक्छ की भनेर खुलाउने प्रयास भएको उनी बताउँछिन् । भन्छिन्, ‘कमसेकम बाँच्ने आधारसम्म हुन्छ की भनेर जोड दिएका हौं ।’
उनको भनाईमा केही कम्पनीहरु एक/दुई वर्ष सर्भाइभ हुन सक्ने अवस्था रहेपनि धेरैको त्यो अवस्था छैन । साथै पर्यटन व्यवसायमा हुने कमाइ भनेको सिजनल हो । सिजनकै बेला बन्दाबन्दी भइदिंदा थप मारमा परेको हो ।
कति व्यवसायीहरु भाडा तिर्नै नसक्ने अवस्थामा पुगेको छ । त्यसैले घरवेटीसँग छुट मागिरहेका छन् । कतिले ठमेललगायतका मुख्य ठाउँबाट अफिस सारिसकेका छन् । सरकारले पर्यटन क्षेत्रको समस्या समाधानको लागि बजेट मार्फत ५० अर्व रुपैयाँको राहत कोष बनाउने उल्लेख गरेपनि अझै कार्यान्वयनमा आउन सकेको छैन ।
‘तीन महिना वित्यो, तर सरकारबाट त्यो रकम राष्ट्र बैंकमा पुगेको छैन । त्यो रकम राष्ट्र बैंकमा पुगेपछि बल्ल निर्देशिका बनेर कार्यान्वयनमा आउने होला’ लामाले भनिन्, ‘त्यसैले अझै पनि हामी आशै आशमा छौं भन्नु पर्ने अवस्था छ ।
यो पनि : ‘राहतको लागि ‘क्यास फर वर्क’को प्रस्ताव
मजदुरका लागि टान
मूलत टान व्यवसायीको संस्था हो । तर पर्यटन मजदुर भनेको यस क्षेत्रको व्याकबोन नै हो । त्यसैले टानले व्यवसायीको हित मात्र होइन, मजदुरको हितलाई पनि हेर्दछ । ‘त्यसैले हामीले हाम्रा मजदुर साथीहरुको लागि तीन वटा योजना अघि सार्यौं’ उनी भन्छिन् । पहिलो, बन्दाबन्दी सुरु भएपछि टानको तर्फबाट हामीले व्यवसायीहरुलाई आ–आफ्नो स्टाफहरुलाई हेरिदिन अनुरोध गरेको थियो । समस्यामा पर्यो भनेर आफ्ना कर्मचारी मजदुरहरुलाई वेवास्त नहोस् भन्ने चाहना त्यसमा रहेको उनी बताउँछिन् ।
दोस्रो, पर्यटन मन्त्रालयलाई व्यवसायी र गाइडहरुलाई सहुलीयतमा ऋण उपलब्ध गराईदिन अनुरोध गर्यो । हामीले गाइडहरुलाई ट्रेकिङ कम्पनीको सिफारिस एक लाख रुपैयाँसम्म सहुलीयत ऋण उपलब्ध गराई दिन अनुरोध गरेका छौं । त्यसमा तत्काल काम हुन नसकेपछि बैंकहरुसँग कसरी राहत दिन सकिन्छ भनेर छलफल गर्यौं । टानको पहलमा कम्पनीहरुले सिफारिस गरिदिएपछि बैंकले क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता भयो । त्यस अनुसार क्रेडिट कार्ड होल्डरले १२ महिनासम्म महिनाको १५ हजार रुपैयाँका दरले खर्च गर्न पाउँछन् । महिना सकिएपछि ५ प्रतिशत तिर्नु पर्ने हुन्छ । बाँकी रकम १३ महिना लागेपछि तिर्न सुरु गर्दा हुन्छ । ‘यो हाम्रो तर्फबाट संस्थागत रुपमा गर्न सकिने प्रयास गरेका हौं’ उनी भन्छिन् ।
तेस्रो, टिम्स कार्ड अन्तर्गत उठ्ने राजस्वको दश प्रतिशत पर्यटन मजदुर कल्याण कोषमा छ । त्यसको कार्यविधि अलि फराकिलो बनाएर पर्यटन मजदुरहरुलाई सहयोग गरौं भन्ने प्रस्ताव टानको छ । ‘कल्याण कोषको रकम यस्तो बेलामा खर्च नगरे कहिले गर्ने?’ उनी भन्छिन्, ‘यस सन्दर्भमा पर्यटन मन्त्रालयमा अझै छलफल जारी नै छ ।’
सरकार लचिलो भए हुने
महासचिव लामाका अनुसार महामारीका कारण दुख पाएका र अड्किएका पर्यटकका सम्बन्धमा पनि सरकार लचिलो नबन्दा नराम्रो सन्देश जाने संभावना छ । लडकाउनका कारण यहाँ अडि्कएका पर्यटकलाई भिषा थप्द शुल्क नलिने भनेको थियो, तर त्यो लागु हुन सकेन । सबैसँग भिषा शुल्क लिइयो ।
अहिले फेरी यहाँ रहेका पर्यटकहरुलाई अगष्ट १२ पछि नेपाल छाड्न भनिएको छ । अध्यागमन कानुन अनुसार पर्यटक भिषामा आएको विदेशीले एक सय ५० दिन भन्दा धेरै बस्न पाउँदैन । त्यही व्यवस्थामा टेकेर उनीहरुलाई देश छाड्न भनिएको हो । यो विषम परिस्थिती हो । उनीहरु यहाँ आश्रय लिएर बसिरहेका छन् । उडान अझै सुचारु भएको छैन, संसार नै महामारीको मारमा छ । यस्तो अवस्थामा सरकारले केही लचिलो व्यवस्था गर्ने हो भने त्यसले संसारभरी राम्रो सन्देश जान्थ्यो । कतिपय देशमा कोरोनाको महामारी भयभह छ, उनीहरु जान चाहिरहेका छैनन् । तर अबस्था जबरजस्ती देश निकालाको अवस्था आउन थालेको छ । यसले पक्कै पनि सन्देश राम्रो जाँदैन । ‘बस्न चाहनेलाई केही समय बस्न दिने हो भने बाहिरबाट नआउँदा पनि केहीको व्यवसाय त चल्थ्यो । सन्देश पनि राम्रो जन्थ्यो’ उनी भन्छिन् ।
पर्यटनको भविश्य
भविश्यको लागि तीन वटा रणनीतिमा काम गरिरहेका लामा बताउँछिन् । ‘ड्रिम नाउ ट्राभल लेटर’ भन्ने नारा बनाएका छौं । अहिले सपना देख्न सक्छौं, सबै राम्रो भए पछि घुमौंला भन्ने सन्देश हो यो । अहिलेको महाकारीको अवस्थाले गुणस्तरीय पर्यटनका बारेमा सोच्न बाध्य बनाएको छ । ८० र ९० को दशकमा उठाएको राजस्वको आधा पनि अहिले पर्यटनबाट उठेको छैन । यसको एउटा कारण डलरको भाउ बढेर पनि होला । तर हाम्रोमा अस्वस्थ प्रतिस्पर्ध भयो । धेरै प्रतिस्पर्धी हुँदा बढेर दुई गुणा हुनुपर्ने राजस्व उल्टै घटेर आधा भयो । यद्यपी रेमिटेन्स पछि बिदेशी मुद्रा आर्जन गर्ने क्षेत्र पर्यटन नै हो ।
कोरोना महामारीको कारण विश्वभर करोडौं मानिसले रोजगारी गुमाएका छन् । मानिसको आम्दानी घटेको छ । विश्वभरी नै मानिस खाने, बस्ने र बच्ने कुरामा केन्द्रित छ । यसकारण पनि सबैले घुमघाममा खर्च गर्न सक्ने अवस्था छैन । त्यसैले पनि गुणस्तरीय पर्यटक तान्न सक्नु पर्छ । यसका लागि नयाँ/नयाँ प्याकेजहरु ल्याउन सक्नु पर्छ । आउटडोर र एडभेन्चरमा हामी टप फाइभभित्र पर्छौं । त्यसमा पनि नयाँ प्याकेजहरु दिन सक्नु पर्यो ।अर्को तर्फ हाम्रा गाइडहरुको क्षमता अभिबृद्धि हुनुपर्यो । हाम्रा गाइडहरु विदेशमा तालिम लिन जानु पर्ने र टीम लिडर भएर विदेशी आउने अवस्थाको अन्त्य हुनुपर्यो ।
पहाडहरुमा हिल स्टेशन बनाउने, राजमार्गहरु राम्रो बनाउने, प्रदुषण घटाउने काम अनिवार्य भइसकेको छ । गुणस्तरीय पर्यटनको लागि फोहोर र प्रदुषण शत्रु नै हुन् । यो बेलालाई हामीले पूर्वाधार बनाउने, हिलस्टेशनहरु तथा अन्य पर्यटकीय क्षेत्रहरुको निर्माण गर्ने काममा लगाउनु पर्छ ।
भुटानले अर्गानिक टुरिजम भनेर गरिरहेको छ । हाम्रोमा भएका ट्रेकिङ ट्रेलहरुलाई ध्वस्त बनाइएको छ । विकास हुनु पर्दैन भन्ने होइन, तर विकास गर्दा पनि ति कुराहरुलाई जोगाउन वा विकल्प दिन सकिन्थ्यो होला नी । मुस्ताङ र मनाङको ट्रेल अव रहेन । हेलम्बु ट्रेल बिक्न छाडिसक्यो । एक महिनाका लागि आउनेहरु दश दिन टिक्न गाह्रो भइसक्यो । डोल्पा बाँकी छ, त्यहाँ पनि यही पाराले बाटो बनाएपछि सकिन्छ ।
अव सहरभित्रको सम्पदाहरुकै कुरा गरौं न । काठमाडौं, भक्तपुर र ललितपुरका दरवार क्षेत्रहरु विश्व सम्पदा सूचिका समेटिएका छन् । त्यहाँ पैसा पनि उठाइएको छ । तर ट्वाइलेटको व्यवस्थासम्म गर्न सकेको छैन । २०१५ को भुकम्पमा भत्किएका संरचनाहरु अझै बन्न सकेको छैन । यसले कसरी पर्यटकलाई आकर्षण गर्न सकिन्छ र?
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…