निगमको जापान उडान अझै अन्योलमा, विमानस्थल मर्मत र उडान तालिका जुध्यो
काठमाडौँ । नेपाल वायुसेवा निगमको जापान उडान फेरी पनि समस्यामा परेको छ । वाइडबडीको पहिलो व्यावसायिक उडान जापानको ओसाकामा आगामी भदौ १२ गतेदेखि सुरु गर्ने निगमले तालिका बनाएको छ ।
तर, निगमको जापान उडान तालिका र विमानस्थल मर्मतको काम एकै समयमा हुने भएपछि समस्या भएको हो । नागरिक उड्डयन प्राधिकरणले यस सम्बन्धमा निर्णय नदिँदा निगमले खुलेर प्रचार गर्न समेत सकेको छैन ।
वाइडवडी विमानका लागि बजार खोज्ने क्रममा सन् २००७ सालदेखि उडान बन्द रहेको जापानमा निगमले पुन: उडान गर्न लागेको हो । चरम आर्थिक घाटामा रहेको निगमको वाइडवडी विमानले अझै लामो दुरीको व्यावसायिक उडान गर्न पाएको छैन ।
विमान उडान गर्ने र ल्यान्ड गर्ने समयमा विमानस्थल मर्मतको काम बन्द गर्न निगमले क्यानलाई पत्र पठाएको हो । निगमका सह–प्रवक्ता नवराज कोइरालाका अनुसार मर्मतको समय र उडान भर्ने समय एकै बेला परेकाले टिकट बुकिङका लागि राम्रोसँग प्रचारप्रसार गर्न सकेको छैन । क्यानलाई गरिएको अनुरोध अनुसार ठेकेदार कम्पनीले केही समयका लागि काम रोक्न राजी भएमा प्रचारप्रसारलाई तीव्र पारिने उनले जनाए ।
निगमले पत्र पठाएपछि निर्माण कम्पनीलाई जानकारी गराइएको क्यानका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनीहरूलाई हाम्रो तर्फबाट केही समय काम रोक्न मिल्छ कि भनेर सोधिएको छ, तर आधिकारिक रूपमा अनुमति भने दिएका छैनन् । फेरी छिटै छलफल हुने उनले बताए ।
ओसाका उडानका लागि निगमले भदौ १२ गते उडानका लागि दोस्रो पटक उडान तालिका सार्वजनिक गरेको हो । यसअघि असार १९ गतेदेखि उडान गर्ने भनिए पनि न्यून बुकिङ भएको भन्दै उडान रोकेको थियो ।
विमानस्थल कार्यालयले भने भदौ १६ गतेदेखि पुस १५ सम्म राती ७ घण्टा बन्द हुने भन्दै नोटाम जारी गरिसकेको छ । राती ११:३० देखि बिहान ६:३० सम्म धावनमार्गसँग जोडिएको ट्याक्सी वे तथा अन्य बाटो निर्माणको लागि विमानस्थल बन्द हुने भएको हो । यसअघि गत चैत्र १८ गतेदेखि असार १५ सम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी धावनमार्ग मर्मतको गरिएको थियो ।
मर्मतको लागि विमानस्थल बन्द गर्ने बेलामै निगमको उडान समय रहेको छ । काठमाडौँबाट बिहान २:३० मा उडेर निगमको विमान स्थानीय समय अनुसार दिनको ११:५५ मा ओसाका पुग्नेछ र ओसाकाबाट १:५५ उडेर दिन अपरान्ह ६:०० बजे काठमाडौँ आइपुग्ने छ ।
काठमाडौँ–ओसाका रुटमा निगमले इकोनोमी क्लास सिटका लागि एकतर्फी भाडा दर ४५ हजार रुपैयाँ तोकेको छ । दुई तर्फी भाडा दर ७७ देखि ८० हजार रुपैयाँ हुने कोइरालाले बताए । मङ्गलवार, बिहीबार र शनिवार गरी सातामा तीन दिन एयरबस ३३० (वाइड बडी विमानबाट) ओसाका उडान गर्ने योजना छ ।
विमानस्थलको धावनमार्गलगायतको जिर्णोद्धार चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले गर्दै आएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…