June 23, 2019

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरी २१ घण्टा सञ्चालनमा आउने

Tribhuvan International Airport
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत कार्ष हुँदै ।

काठमाडौँ । यही असार १६ गतेदेखि मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आउने भएको छ । गत चैत १८ गतेदेखि मर्मतका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्दै आएको
छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ४५ वर्षपछि पहिलो पटक मर्मत कार्य भइरहेको छ । मर्मत सुरु हुनुअघि पनि विमानस्थल २१ घण्टा सञ्चालनमा थियो ।

असार १५ गते धावनमार्ग मर्मतको काम सम्पन्न भएपछि १६ गतेदेखि दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्ने तयारी गरिएको विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार अगष्ट (भदौ १४) सम्म पुरानै रूपमा दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुनेछ ।

त्यसपछि भदौ १५ गतेदेखि पुस १५ गतेसम्म दैनिक ७ घण्टा विमानस्थल बन्द गरी पुन: काम गरिने छ ।

उनका अनुसार राती ११:३० देखि बिहान ६:३० सम्म धावनमार्गसँग जोडिएको ट्याक्सी वे तथा अन्य बाटो निर्माणको काम हुनेछ । उक्त काम सुरु भएपछि दैनिक ७ घण्टा विमान उडान र अवतरण रोकिने छ ।

विमानस्थल तीन महिनाका लागि दैनिक १० घण्टा बन्द हुँदा दैनिक ७० वटासम्म उडान कटौती भएका थिए । जीर्णोद्वारपछि धावनमार्ग कम्तीमा २० वर्षसम्म चौबिसै घण्टा सञ्चालन गर्न सकिने क्षमताको बन्ने बताइएको छ ।

विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको रहेको छ । त्यसमा मध्यरेखाबाट दायाँबायाँ २० मिटर चौडाइ तथा २० सेन्टिमिटर गहिरो खनेर नयाँ अलकत्रा राखेको छ ।

विमानस्थलमा ट्विनअटर, एटिआरदेखि एयरबस ३३० सम्म उडान र अवतरण हुने गर्दछ । साथै विमानस्थलमा अन्तराष्ट्रियतर्फ ९ र आन्तरिक तर्फ १७ वटा पार्किङ वे रहेको छ ।

धावनमार्ग जिर्णोद्वारको ठेक्का चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले चार अर्ब २७ करोडमा पाएको हो ।

विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ गरी दैनिक चार सय भन्दा बढी उडान हुँदै आएको छ । आन्तरिकतर्फ २० हेलिकप्टर कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३१ विमान कम्पनीले उडान भर्दै आएका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…