June 30, 2019

घुम्नै पर्ने विश्व सूचिमा परेका हाम्रा दश सम्पदा

10 world heritage sites in Nepalघुमफिरमा रुचि राख्नेहरूको लागि नेपालमा धेरै त्यस्ता स्थान र क्षेत्रहरू छन् जहाँ आफ्ना रुचि अनुसार पुगेर आनन्द लिन सकिन्छ । ती क्षेत्रहरू कतिपय विश्वमै चिनिएका छन्, कतिपय स्थानीय रूपमा ।
यहाँ विश्व सम्पदा सूचिमा परेका दश सम्पदाको छोटकरी परिचय दिएका छौँ । यी सम्पदाहरू हाम्रा अमूल्य सम्पत्ति हुन् । विश्वका कुनाकुनाबाट यिनै सम्पदा हेर्न पर्यटकहरू आउँछन् । यिनै सम्पदाले विश्वलाई भनिरहेको छ, नेपालमा गरिबी मात्र छैन, विश्व रङ्गमञ्चमा पहिचान बनाउन सक्ने प्राकृतिक सुन्दरता, कला र संस्कृतिले पनि भरिपूर्ण छ । हामी आफै भने किन नपुग्ने ?

पशुपतिनाथ : देवताका पनि देव
Pasupatinath-10 world heritage site in Nepalकाठमाडौँको उत्तर–पूर्वस्थित बग्मती नदीको किनारमा रहेको पशुपतिनाथ मन्दिर हिन्दुहरूको प्रमुख धाम मध्येको एक हो । यो मन्दिर हिन्दु धर्मका देवताहरूका पनि देव महदेवमा समर्पित छ । यस मन्दिरको निर्माण पाँचौँ शताब्दीमा किराँत शासनकालमा निर्माण गरिएको बताइन्छ । उपत्यकामा किरातपनि लिच्छवी र त्यसपछि मल्लहरूले शासन गरेका थिए । मल्लकालसम्म पनि यसको निर्माण कार्य भइरहेको थियो ।
शिवस‌ंग जोडिएका हरेक पर्व र तिथिहरूमा यहाँ भक्तजनहरूको ठुलो भीड लाग्न गर्दछ । विशेष गरेर तीज र महाशिवरात्रीका बेला यहाँ ठुलो मेला लाग्छ । शिवरात्रीका बेला भारत र अन्य मुलुकहरूबाट समेत भक्तजनहरू आउने गर्दछन् ।
यूनेस्कोको विश्व सम्पदा सूचिमा रहेको पशुपति नाथको मन्दिर र त्यस क्षेत्रमा हिन्दु धर्मावलम्बी धार्मिक प्रयोजनले मात्र होइन, अरूलाई पनि घुमफिरका लागि उपयुक्त छ बर्सेनि लाखौँ विदेशी पर्यटकसमेत घुमफिरको लागि आउने गर्छन् । पशुपति नाथको मूल मन्दिरका साथै त्यहाँ अन्य पनि धेरै मठ मन्दिरहरू छन् । आर्यघाट, मृगस्थली, विश्वरुप, गुह्वेश्वरीलगायतका क्षेत्रहरू अवलोलक गर्न सकिन्छ ।

स्वयम्भूनाथ : बौद्ध र हिन्दु धर्मको सङ्गम
Swiyambhunath-10 world heritage site in Nepalदुई हजार वर्षभन्दा पुरानो मानिएको स्पय‌म्भुनाथ चैत्यको निर्माण लिच्छवी राजा मनदेवले १३ औँ शताब्दीमा गराएको बताइन्छ । यसलाई महाचैत्यसमेत भनिन्छ । काठमाडौँको पश्चिमोत्तर तर्फको थुम्कोमा रहेको यो स्तुपा र त्यसस‌ंगैको मन्दिरलाई बुद्ध र हिन्दु धर्मको सङ्गमको रूपमा लिइन्छ । यहाँ रहेको दुवै धर्मसँग सम्बन्धित मूर्ती, चैत्य र अन्य पुरातातुविक बस्तुहरू धार्मिक सहिष्णुताको साक्षीका रूपमा रहेका छन् ।

घुमफिर रुचाउनेहरूको लागि यसको अर्को आकर्षण भनेको त्यहाँबाट देखिने काठमाडौँ सहर पनि हो । धार्मिक उदेश्यले पुग्नेहरू त छन् नै बिहान दिउँसो र साँझखेरसमेत यो थुम्कोबाट काठमाडौँ सहरको दृश्यावलोकन गर्नेहरूको सङ्ख्या कम हुँदैन ।

बौद्धनाथ : तिब्बतीयन बुद्धिजमको केन्द्र
Boudhanath-10 world heritage site in Nepalविश्वकै सबैभन्दा ठुलो र अग्लो यो स्तुपा ३६ मिटर अग्लो छ । काठमाडौँको केन्द्रबाट जम्मा तीन किलोमिटर उत्तर–पूर्वमा रहेको यो क्षेत्र नेपालमा तिब्बती बुद्धिजमको केन्द्रको रूपमा पनि लिइन्छ । धेरै अघि भोटसँगको व्यापारिक सम्बन्ध पनि यही बाटो भएर साँखु हुँदै हुन्थ्यो । विश्व सम्पदा सूचिमा रहेको यो स्तुपाको मर्मत ८ औँ शताब्दीमा लिच्छवीकालमा गरिएको बताइन्छ । यहाँ बिहान बेलुका माने घुमाएर स्तुपालाई फन्को मार्नेहरूको भीड लाग्छ । यसका वरिपरि विभिन्न गुम्बाहरूसमेत रहेका छन् । यस क्षेत्रमा पुगेपछि शान्तिको अनुभूति हुन्छ ।

हनुमान ढोका दरबार क्षेत्र : इतिहासको डोरी
Basanrtapur-10 world heritage site in Nepalराजधानी काठमाडौँको मुटुमा रहेको यस क्षेत्रलाई काठमाडौँ दरबार क्षेत्रको रूपमा चिनिन्छ । यसलाई वसन्तपुर दरबार क्षेत्र पनि भन्छन् । नारायणहिटी दरबारमा सर्नु अघि नेपालको शासन यही दरबारबाट सञ्चालन हुन्थ्यो । यस क्षेत्रमा मल्लकालीन कला, संस्कृति र सभ्यताको झलक देख्न पाइन्छ । जीवित देवी कुमारी घर यही रहेको छ । दरबारका अलावा त्यहाँ सङ्ग्रहालय छ । अन्य पनि धेरै महत्त्वपूर्ण मन्दिरहरू रहेको यस क्षेत्रको भूकम्पपछिको पुनर्निर्माण जारी छ । विश्व सम्पदा सूचिमा रहेको यो स्थान काठमाडौँको प्रमुख पर्टकीय क्षेत्रको रूपमा रहेको छ ।

पाटन दरबार क्षेत्र : कला र स‌ंस्कृतिको केन्द्र
Patan-10 world heritage site in Nepalएक्काइस गजुरवाला कृष्ण मन्दिरका बारेमा नसुन्ने को होला र? पाटन दरबार क्षेत्रमा कृष्ण मन्दिर मात्र होइन अरू पनि आकर्षणहरू छन् । यहाँको दरबार १२ औँ शताब्दीमा निर्माण गरिएको हो । कृष्ण मन्दिर पुरै ढुङ्गाले बनाइएको छ । दरबार क्षेत्रको वरपर अहिले पनि ढुङ्गाका मूर्ती कुँदी रहेका कालिगडहरू प्रशस्तै भेटिन्छन् । सङ्ग्रहालय, दरबार क्षेत्रका कलाकृतिहरू तथा सालिक र मन्दिरहरू यसका आकर्षण हुन् । साथमा नेवारी संस्कृति र खाना पनि यहाँका आकर्षण हुन् ।

भक्तपुर दरबार क्षेत्र : कला र सम्पदाको संरक्षण
Bhaktapur-10 world heritage site in Nepalकाठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय आकर्षण मध्ये भक्तपुर दरबार क्षेत्र पनि हो । सरफाइ र व्यवस्थापनको हिसाबले पनि यसलाई अब्बल मानिँदै आएको छ । ऐतिहासिक त छ नै यो क्षेत्र कला संस्कृतिका हिसाबले पनि अवलोकन गर्न लायक छ । युनेस्कोको विश्व सम्पदा सूचिमा रहेको यस दरबार क्षेत्रका प्रमुख आकर्षणहरूमा न्यातपोत, पचपन्न झ्याले दरबार, भुपतिन्द्र मल्लको सालिक, भगवती मन्दिर, भैरवनाथ मन्दिर, ठुलो घण्टा, तलेजु मन्दिर, सुनको ढोकालगायत रहेका छन् ।

चाँगुनारायण नारायण : सबैभन्दा पुरानो मन्दिर
Changunaraya-10 world heritage site in Nepalउपत्यकाका सबैभन्दा पुरानो मानिएको चाँगुनारायण नारायण मन्दिर चौथौँ शताब्दीमा निर्माण गरिएको बताइन्छ । यो धार्मिक हिसाबले मात्र नभई पर्यटकीय स्थलको रूपमा पनि लोकप्रिय छ । काठमाडौँबाट करिब २२ किलोमिटरको दुरीमा रहेको यो मन्दिर क्षेत्रमा पूजा गर्न भक्तजन जाने त भए नै यहाँ कुँदिएका कलाकृतिहरू तथा सहरबाट अलि टाढाको मनोरम दृश्यहरूको अवलोकनको लागि पनि पर्यटकहरू पुग्ने गर्दछन् ।
तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगुनारायण आउने ट्रेकिङ रुटमै पर्छ भने नगरकोटको ट्रेकिङ गर्नेहरूका लागि पनि उपयुक्त क्षेत्र हो ।

लुम्बिनी : भगवान् बुद्धको जन्मस्थल
Lumbini-10 world heritage site in Nepalराजधानी काठमाडौँबाट करिब ३०० किलोमिटरको दुरीमा रहेको लुम्बिनी भगवान् बुद्धको जन्मस्थल हो । यो क्षेत्र विश्वभरका बुद्धधर्मलम्बीहरुको लागि आस्थाको केन्द्रको रूपमा विकसित हुँदैछ । धार्मिक प्रयोजनले आउनेहरूको सङ्ख्या दिनानुदिन बढेसँगै घुमफिरका लागि पुग्नेहरू सङ्ख्या पनि कम छैन । बुद्ध जन्मेको पवित्र स्थानको रूपमा मायादेवीको मन्दिर अवलोकन गर्ने धेरै हुन्छन् । त्यसका अलावा सम्राट् अशोकले स्थापना गरेको अशोक स्तम्भ, शान्ति दीप, बोद्धिबृक्ष आकर्षण हुन् । यसका साथै यो विश्व सम्पदा सूचिमा परेको क्षेत्र भित्र विभिन्न देशहरूले आफ्नो देशकव मौलिकता झल्कसने खालका गुम्वहरु बनाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज : जङ्गल सफारीको मजा
Chitwan-10 world heritage site in Nepalमुलुककै पहिलो राष्ट्रिय निकुञ्ज दक्षिणको समथर भूभागमा छ । काठमाडौँबाट करिब सय किलोमिटरको दुरीमा रहेको यो निकुञ्ज ९५२.६३ वर्ग किलोमिटरमा फैलिएको छ ।
५४४ थरीका चराचुरुङ्गी, ६८ थरीका स्तनधारी जनावर, ५६ थरी जलचर र १२६ थरी माछा पाइन्छ । पर्यटकको लागि मुलुकभित्रकै प्रमुख आकर्षण मध्ये रहेको यस निकुञ्ज प्रवेश गर्ने दुई बाटाहरु छन्, एउटा सौरहबाट र अर्को मेघौलीबाट । जलविहार, जङ्गल सफारी तथा हात्ती सवार यसका आकर्षण हुन् । यही क्षेत्रका हात्तीको प्रजनन केन्द्र रहेको छ भने दुर्लभ एक सिङे गैँडा यसका आकर्षण हुन् ।

सगरमाथा राष्ट्रिय निकुञज : अग्ला हिमालहरूको घर
Sagarmatha-10 world heritage site in Nepalविश्व सम्पदा सूचिमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र सर्वोच्च शिखर सगरमाथासहित अग्ला हिमालहरू रहेका छन् । ११४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज हिमाल आरोहणका लागि त चर्चित छ नै साथमा प्राकृतिक सौन्दर्य, विभिन्न खालका चराचुरुङ्गी तथा दुर्लभ जीव जन्तुका कारण पनि लोकप्रिय छ । पदयात्राका अनेकन् रुटहरू रहेको यस क्षेत्रमा रेड पाण्ड र हिउँ चितुवा जस्ता दुर्लभ जीव जन्तुहरू समेत देख्न सकिन्छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…