July 14, 2019

क्यानले निगमलाई जापान उडान अनुमति दियो, आधा घण्टा काम रोकेर उड्न दिइने

Nepal airlines corporationकाठमाडौँ । नेपाल वायुसेवा निगमलाई आगामी भदौ १२ गतेदेखि जापानको ओसाका उडानका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान अनुमति दिएको छ । विमानस्थल मर्मतको समयमा आधा घण्टा काम रोकेर निगमको विमान उड्न दिने क्यानले जनाएको छ ।

निगमले विमानस्थल मर्मत र आफ्नो उडान समय जुधेकाले केही समय काम रोकेर भए पनि उडान अनुमति दिन क्यानलाई अनुरोध गरेको थियो । त्यही पत्रको आधारमा शुक्रवार अनुमति दिएको हो ।

‘निगमले हामीलाई पठाएको पत्रलाई आधार बनाएर पूर्ण रूपमा सरकारी स्वामित्वको विमान सेवालाई हामीले सहयोग गरेका हौँ’, क्यानका महानिर्देशक राजन पोखरेलले भने, ‘हामीले निगमलाई जम्मा ३० मिनेटको समय दिएका छौँ । ३० मिनेटमा निगमले उडान गर्नुपर्ने हुन्छ ।’

क्यानले भदौ १६ गतेदेखि पुस १५ सम्म राती ७ घण्टा विमानस्थल बन्द गरेर मर्मत गर्दैछ । राती ११:३० देखि बिहान ६:३० सम्म धावनमार्गसँग जोडिएको ट्याक्सी वे तथा अन्य बाटो निर्माणको लागि विमानस्थल बन्द गर्न लागेको हो ।

काठमाडौँबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उड्ने निगमको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६:०० बजे काठमाडौँ आइपुग्ने छ ।

लामो दुरी उडानका लागि विमान अभाव रहेको भन्दै सन् २००७ सालदेखि उडान बन्द भएको जापानमा निगमले भदौ १२ गतेदेखि वाइड बडी विमानबाट उडान सुरु गर्न लागेको हो । यसअघि असार १९ गतेका लागि उडान तालिका सार्वजनिक गरेको निगमले यात्रु अभाव भन्दै पुनः दोस्रो उडान तालिका सार्वजनिक गरेको हो ।

काठमाडौँ–ओसाका रुटमा निगमले इकोनोमी क्लासका लागि एकतर्फी भाडा दर ४५ हजार रुपैयाँ तोकेको छ। दुई तर्फी भाडा दर ७७ देखि ८० हजार रुपैयाँ हुने बताइएको छ । मङ्गलवार, बिहीबार र शनिवार गरी सातामा तीन दिन ओसाका उडान हुनेछ ।

यो पनि पढ्नुस्

निगमको जापान उडान अझै अन्योलमा, विमानस्थल मर्मत र उडान तालिका जुध्यो

निगमको चीन उडान पनि अझै अनिश्चित, चिनियाँ सिभिल एभिएसनद्वारा ‘सेफ्टी अडिट’को प्रस्ताव

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…