आन्तरिक पर्यटनमा जोड दिने पर्यटन बोर्डका सिइओ रेग्मीको भनाई
काठमाडौँ । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसारको लागि गरिरहेको खर्च कटौती गरेर आन्तरिक पर्यटनको प्रवर्द्धन गरिने बताएका छन् ।
रेग्मीले आइतबार नेपाल पर्यटन बोर्डमा पर्यटन व्यवसायीहरूसँगको परिचयात्मक कार्यक्रममा उक्त भनाई राखेका हुन् ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरी वैदेशिक प्रचारप्रसारले कर्मचारीको भत्तामा मात्रै खर्च हुने बताउँदै त्यस्ता प्रचार प्रसारले कुनै फरक नपार्ने उनको भनाई थियो ।
‘विदेशमा गएर सगरमाथा, लुम्बिनी, पोखरा, चितवन मात्रै बिक्री गरेर पर्यटक ल्याउन सकिँदैन, नयाँ पर्यटकीय गन्तव्यको खोजी र भएका क्षेत्रहरूको प्रवर्द्धन आवश्यक छ । पहिले विदेशी पर्यटक ल्याउनको लागि आन्तरिक रूपमा पर्यटकलाई आवश्यक पर्ने पूर्वाधार विकास गर्नुपर्ने हुन्छ’ उनले भने ।
विदेशमा हुने प्रचार प्रसारमा लाग्ने रकम आन्तरिक पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा खर्च गर्ने बताउँदै सात वटै प्रदेशको कुना–कुनामा रहेको पर्यटकीय क्षेत्रको विकास गरिने उनको भनाई थियो ।
पर्यटन क्षेत्रको विकास र समृद्धिको लागि चार वर्षे कार्यकालमा आफ्नो तर्फबाट सम्पूर्ण कार्य गरिने पनि उनले बताए । उनले स्थानीय जनता, निजी क्षेत्र र सरकारसँग सहकार्य गरी निरन्तर पर्यटन क्षेत्रको विकासमा लागि रहने पनि उल्लेख गरे ।
‘मेरो कार्यकालमा अन्तर्राष्ट्रिय बजारको बिस्तार गर्ने, पर्यटन क्षेत्रको अध्ययन र अनुसन्धान गर्ने, प्रत्येक प्रदेशमा सूचना र प्रविधिको विकास गर्ने, होमस्टेको विकास र बिस्तारमा जोड दिने, पर्यटकीय क्षेत्रका संस्थाहरूसँग सहकार्य गरी पर्यटनको प्रवर्द्धन गर्ने र पर्यटन बजारको नीति निर्माण गर्ने योजना छ’ उनले भने ।
पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नको लागि निजी क्षेत्र, भ्रमण वर्ष सचिवालय र सरकारसँग सहकार्य गरी निरन्तर अगाडि बढ्ने पनि सिइओ रेग्मीले बताए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…