July 30, 2020

‘राहतको लागि ‘क्यास फर वर्क’को प्रस्ताव गरेका छौँ’

  • कुलबहादुर गुरुङ, महासचिव – नेपाल पर्वतारोहण सङ्घ (एनएमए)

हामी पर्यटन व्यवसायीलाई २०७२ सालको भूकम्प पछि सुरुमा सखापै पार्‍यो भन्ने लागेको थियो । तर, त्यस बेला नेपाललाई मात्र त्यसले प्रभावित बनाएको हुँदा धेरै सहयोगी हातहरू पायौँ । पहिलो वर्ष केही गाह्रो भए पनि दोस्रो वर्ष पर्यटन पूर्ण रूपमा पुनःस्थापित भयो । तर यो कोभिड १९ ले चाही विश्वलाई नै प्रभावित बनाएको छ । अर्को अन्फर्चुनेट कुरा के छ भने कोभिड १९ ले सबै भन्दा पहिला पर्यटनलाई समस्यामा पुर्‍यायो र सबैभन्दा अन्तिममा पुन:र्स्थापित हुने पनि यही क्षेत्र भयो ।

व्यवसाय शून्यमा

अहिले व्यवसाय शून्यको अवस्थामा छ । पर्यटनसँग आबद्ध रहेको सबै आरोही, मजदुर, व्यवसायी बेरोजगार बनेका छन् । व्यवसायीहरू डिप्रेसनमा जाने अवस्थामा छ । सरकारसँग राहत मागिरहेको तर नपाएको अवस्था छ भने अव के गर्ने भन्ने कुरा कसैलाई थाहा नभएको अवस्था छ । हामीले सरकारसँग सामूहिक रूपमा केही मागहरू राख्यौँ, त्यसमा केही राम्रा समाचारहरू पनि आएको छ । त्यसका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु ।

पछिल्लो चरणमा लकडाउन खुलेको छ । अगस्ट १७ देखि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सुचारु हुँदैछ । यद्यपि हामीलाई थाहा छ, यस पालीको अटम सिजनमा पर्यटक आउने अवस्था छैन किनभने हामीले मात्र खोलेर पनि भएन, आउन दिने नदिने कुरा उसको देशले निर्णय गर्ने कुरा भयो । आउँदा पनि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा हुने जोखिमको अर्कै पाटो छ । सरकार र व्यवसायीहरू मिलेर स्वास्थ्य सुरक्षा प्रोटोकलहरू अपनाउने कुरा भएको छ ।

मेरो बुझाइमा खुलेर २० देखि २५ प्रतिशत मात्र पर्यटक आइदियो भने कमसेकम व्यवसाय सर्भाइभ होला की भन्ने आशा हो । व्यवसायी र यससँग सम्बन्धित मजदुर साथीहरूलाई सस्टेनसम्म गराउन सकिन्छ की भन्ने हो ।

प्रोटोकल महत्त्वपूर्ण

कोरोनाको महामारी सकिएको छैन । जोखिम भएकोले नै हामीले सीसीएमसीले ल्याउने प्रोटोकललाई पूर्ण रूपमा पालना गराउने भनेका छौँ । हेलचक्र्याइँ गर्नु हुन्न । यसमा पनि हामीले निश्चित सङ्ख्यामा काम गर्ने प्रस्ताव गरेका छौँ । हुन त गुणस्तरीय पर्यटक भनेर मात्र पनि के होला र ? सङ्ख्या तोकेर आउन दिने भन्ने पनि होइन । तर, सुरक्षाका उपायहरू अपनाउने भन्ने हो । उदाहरण लिँदा, जस्तै एउटा टेन्टमा एक जना मात्र बस्ने, धेरै ठुलो सङ्ख्यामा ट्रेकिङ नगराउने, धेरै ठुलो सङ्ख्यामा लजमा नराख्ने, बाटोमा हिँड्दा पनि मास्क, ग्लोब्स लगाएर हिँड्ने लगायतका विधिहरू अपनाउन सकिन्छ । हामीले नेपाल आउने हरेक पर्यटकले पीसीआर टेस्ट गराएको रिपोर्ट ल्याउनु पर्ने व्यवस्था गर्न पनि सुझाव दिएका छौँ । साथै नेपाल सरकारले पनि सुनिश्चितताको लागि पीसीआर गराउने हो कि भन्ने पनि छ ।

अर्को कुरा सर्भाइभको लागि आन्तरिक पर्यटकको पनि योगदान रहन्छ । होटेल, लज, रेस्टुरेन्ट खुल्यो भने केही नेपालीहरू पनि घुम्न जाने छन् । केही मात्रमा ‘क्यास फ्लो’ भयो भने पनि त्यसले सघाउँछ । अहिले कतिपयको जागिर नै गएको अवस्था छ, बेतलबी बिदामा छन् । यस्तो अवस्थामा हाम्रो कुरा केही त गरौँ भन्ने हो । अहिले खोल्दै पनि २५ देखि ३० प्रतिशत भन्दा धेरै त व्यापार हुँदैन भन्ने थाहा छ ।

व्यवसायी साथीहरू घर भाडा, बिजुली, पानीको शुल्क पनि तिर्न नसक्ने अवस्थामा रहेका छन् । यो कुरा म आफै एक व्यवसायी भए पनि मजदुर हुँदै आएकोले खुला रूपमा भनिरहेकोछु । अहिले हामी पर्यटन क्षेत्रमा रहेका छाता सङ्गठनहरूले संयुक्त रूपमा सरकारदेखि घरधनीसम्म पहल गरिरहेका छौँ । उदाहरणको रूपमा ठमेल विकास परिषद्को संयोजनमा हामी २८ वटा छाता सङ्गठनहरू मिलेर ठमेलमा गरिएको अभियानलाई लिन सकिन्छ । यो अभियान राज्यव्यापी रूपमा सुरु होस् भन्ने चाहन्छौँ । हामीले २४ मार्चदेखि लागु हुने गरी एक वर्षसम्म घर भाडामा ५० प्रतिशत वा त्यसको वरिपरि रहेर छुट दिऊँ भनेका छौँ । साथै टेलिफोन र बिजुलीमा पनि छुटको माग गरिरहेका छौँ । यसो भन्नुको कारण, पर्यटन क्षेत्रमा अत्यन्त नराम्रो प्रभाव परेको हुँदा घरधनीहरूलाई पनि जोगाउनु पर्छ र त्यो हवलाई पनि जोगाउनु पर्छ भन्ने हो । हिजोको दिनसम्म ठमेलमा १७७ वटा सटर खाली भयो । राम्रो समाचार चाही ३५० भन्दा बढी व्यवसायी र घर धनीबीच वीन–वीन भएर जाऊँ भन्ने कुरा भएको छ । ठमेल त्यही क्षेत्र हो, जहाँ ट्रेकिङ, ट्राभल्स, होटेल, रेस्टुरेन्ट तथा अन्य पर्यटनसँग सम्बन्धित पसलहरू छन् । सबै बन्द छन् । कर्मचारीहरू ‘फोर्स लीभ’मा छन् । सुरुमा ५० प्रतिशत तलब दिएर राख्ने भनेको त्यो पनि दिन सकिने अवस्था भएन । खातामा रहेको केही रकम पनि बैङ्कले किस्ता तानी हालेको अवस्था छ । यो महामारीको मार मार्चबाट परे पनि पर्यटनमा डिसेम्बरबाट नै अफसिजन थियो । त्यस कारणले अत्यन्त नाजुक अवस्था छ । मजदुर, कर्मचारीले कम्पनीले तलब दिन नसकेको र सरकारले पनि नहेरेको अवस्था छ ।

क्यास फर वर्क

पर्वतीय पर्यटनमा रहेका आरोही तथा मजदुरहरूलाई परेको समस्याका कारण नै नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले राहतको रूपमा पर्यटन मन्त्रालयसँग मिलेर ‘क्यास फर वर्क’ को प्रस्ताव अघि सारेको हो । यस अन्तर्गत हिमालहरूको सफाइ गर्ने योजना छ । त्यस्तै हाइ पासेसहरुमा चेन एङ्करिङ फिक्स गर्ने, बिग्रेको भत्केको सेल्टर हाउसहरू मर्मत गर्ने तथा बनाउने प्रस्ताव गरेका छौँ, त्यसमा १५ सय/२ हजार आरोही तथा सहयोगीहरुलाई काममा लगाउन सकिन्छ । टानले पनि माछापुच्छ्रे बैङ्कसँग मिलेर कम्पनीको ग्यारेन्टीमा १५ हजार रुपैयाँसम्म सफ्ट लोन दिन सकिने व्यवस्था गरेको छ ।

मेरो विचारमा स्वास्थ्य सुरक्षाको प्रोटोकल अपनाएर कर्मचारी मजदुरहरूलाई काममा फर्काउनु पर्छ । गन्तव्य र बाटोमा पर्ने स्थानीयलाई पनि कोरोना लिएर आए भन्ने नपर्ने गरी रोजीरोटीको लागि काममा फर्काउनु पर्छ ।

अहिले धेरै पर्यटन व्यवसायीहरूले केही वैकल्पिक व्यवसायहरू पनि हुन सक्छ कि भनेर सोचेको पाइएको छ । सामाजिक सञ्जालहरूमा आएको कुरा हेर्दा ९० प्रतिशत जतिले कृषि पर्यटनको कुरा गरेको देख्छु । कतिपयले काम सुरु गरेको पनि देखिएको छ । मेरो कुरा गर्दा, पर्यटन व्यवसायमा लागेको २८ वर्ष भयो । यस पटक जति यसअघि कहिल्यै आत्तिएको थिइन । यो महामारीले धेरैलाई अत्याएको छ । अहिले धेरैलाई वैकल्पिक रूपमा अरू पनि व्यवसाय गर्नुपर्ने रहेछ भन्ने अनुभूति गराएको छ । यद्यपि यस सम्बन्धमा डाटाहरू उपलब्ध छैनन् । हामीले एनएमएको तर्फबाट नेपाल सरकारसँग मिलेर महामारीको प्रभावका बारेमा सर्भे गर्यौँ तर विकल्प के हुन सक्छ भन्ने बारेमा अध्ययन भएको छैन ।

नेपालमा पर्यटन व्यवसाय सिजनल छ । यस्ता महामारी फेरी नआउलान् भन्न सकिन्न । विगतमा पनि धेरै घट्नाहरु भए । यस पटक सबैभन्दा खराब अवस्थाबाट गुज्रनु परेको अवस्था छ । धेरै साथीहरूले अरू पनि केही गर्नुपर्छ भन्ने सोच पलाएको देख्छु, तर यही गर्ने भन्ने चाही देखिएको छैन ।

नयाँ पर्यटकीय प्रडक्टको संभावना

समस्या देखा परे पनि हामी प्राकृतिक स्रोतले धनी छौँ । यसलाई नै उपयोगमा ल्याएर नयाँ पर्यटकीय गतिविधि तथा उत्पादन बनाउन सक्छौँ । सरकारले पनि सात प्रदेशमा सात हिल स्टेसन बनाउने भनेको छ । हामी त्यसमा सघाउन तयार छौँ । यस्ता कार्यले पर्यटकीय गतिविधिमा विविधता ल्याउनेछ । त्यसै गरेर पछिल्लो चरणमा आन्तरिक पर्यटकलाई लक्षित गरेर पनि गतिविधिहरू अघि बढेका छन् । युवा पुस्तालाई लक्षित गरेर नेपालमा स्पोर्टस् टुरिजममा साइक्लिङ, बन्जी जम्प, क्योनोनिङ, स्विङ, कायकिङ, रक क्लाइम्बिङ पनि अगाडी आएको छ । त्यसैले नयाँ पुस्ता र खास गरेर विद्यार्थीहरूलाई लक्षित गरेर केही नयाँ पर्यटकीय प्रडक्ट ल्याउनु पर्छ भनेर हामीले गृहकार्य गरिरहेका छौँ । यद्यपि अहिले महामारीका कारण केही रोकिए जस्तो देखिन्छ । तर अघि बढिरहेको छ ।

पर्वतीय पर्यटनका चुनौतीहरू

पछिल्लो तीन वर्षदेखि म पर्वतीय पर्यटनका चुनौतीहरूलाई केन्द्रमा राहेर अध्ययन/अनुसन्धानमा पनि लागि रहेको छु । यद्यपि पहिले म यसमा रहेको अवसरका बारेमा उल्लेख गर्न चाहन्छु । नेपाली पर्यटनको राजस्वको ठुलो हिस्सा पर्वतारोहणबाटै आउँछ । अनि नेपाललाई चिनाउने भनेको पनि पर्वतीय पर्यटनले नै हो । एउटा रमाइलो कुरा गरौँ, जब अटम र स्प्रिङ सिजनमा विदेशीहरू ठुला हिमाल चढ्न आउँछन्, विशेष त सगरमाथा । त्यति बेला बिबिसी र सीएनएनको क्यामेरा नेपाल तिरै फर्किएको हुन्छ । त्यही बेला नेपाल विश्वमा चिनिने हो ।

यसका साथै रोजगारी, नेम र फेम पनि यसमा छ । धेरै लेखपढ गर्न नपर्ने, अलिकति बल भएको बेला, अलिकति टेक्निक सिकेपछि गर्न सकिने यो काम अवसरको रूपमा रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली शेर्पाको ब्रान्ड नै बनेको छ । प्राकृतिक रूपमा नै शेर्पाहरू हिमाल चढ्न रुचाउने खालको देखिन्छ । अधिकांश विश्व रेकर्ड पनि उहाँहरूले नै राख्नु भएको छ । यद्यपि पछिल्लो समय अन्य जातिकाले पनि केही राखेका छन् । यसरी नाम राख्ने, आफू पनि स्थापित हुने, देशलाई चिनाउने यी सबै कुराहरू पर्वतीय पर्यटनका अवसरहरू हुन् । अर्को पाटोमा यस काममा विदेशीसँगको सम्पर्क र सम्बन्धको कुरा पनि आउँछ । संस्कृतिको आदान–प्रदानको कुराका साथै राज्यका नीति नियमहरूलाई समेत बुझ्ने अवसर प्राप्त हुन्छ । यो यस पेसामा संलग्नहरूको लागि व्यक्तित्व विकासको अवसर हो ।

चुनौती पनि यस क्षेत्रमा चाङ नै छ । मेरो अध्ययन यी चुनौतीहरूलाई सम्बोधन गरेर थप व्यवस्थित र सुधार कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । यसमा कतिपय आरोहीलाई टेक्निकल ज्ञान भए पनि सैद्धान्तिक ज्ञान नहुँदा समस्या भएको छ, कहिले भाषाको समस्या, कहिले आफूलाई अलि जिम्मेवार बनाउनु पर्छ भन्ने ज्ञान नहुने आदि कारणले पनि चुनौती थपेको छ । शिक्षाको अभावमा मौसमको अनुमानमा हेक्का नपुग्ने, विदेशीसँग टिममा कसरी काम गर्ने र मेरो कामले राज्यलाई कसरी योगदान दिन्छ भन्ने कुरा थाहा नहुने जस्ता चुनौतीहरू पनि छन् । कतिपय अवस्थामा अस्वस्थ प्रतिस्पर्धाको कुराहरू, राजस्व चुहावट, गैरकानुनी कार्य आदि समस्याहरू पनि यस क्षेत्रमा छन् । मैले झन्डै साढे चार सय वटा चुनौतीहरू सङ्कलन गरिसकेको छु । अझै पनि यस विषयमा अध्ययन जारी नै छ । विदेशी आरोहीहरू आएपछि स्थानीयले के फाइदा पाए र लिन सके भन्ने जस्ता विषयहरू पनि छन् ।

अझ महत्त्वपूर्ण चुनौती भनेको विश्वमा ब्रान्ड बनिसकेको शेर्पा समुदायको पछिल्लो पुस्ता आरोहणमा आउलान् की नआउलान् भन्ने छ । अबको दश वर्ष पछि आरोहणमा शेर्पाहरू पाउने की नपाउने भन्ने हो । आङरिता शेर्पालाई सम्मान गर्दै उहाँकै बारेमा कुरा गरौँ । २४ पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पा अव नेपालमा रहने की नरहने? यो कुरा कसैलाई थाहा छैन । यदि उहाँ जस्तो विश्व रेकर्ड कायम गरेका आरोही विदेश पलायन भयो भने धेरै आङरिताहरु बिदेसिने छन् । यस्तो विषयमा सरकारले सोचेको पाइँदैन । नयाँ पुस्ताको कुरा गर्दा उनीहरू शिक्षित छन्, प्राविधिक, सैद्धान्तिक सबै हिसाबले राम्रा छन्, तर उनीहरूको फ्रस्टेसनको कारण यस क्षेत्रमा सामाजिक सुरक्षाको अभाव हो । अटम र स्प्रिङमा हिमाल चढेपछि अरू बेला देशभित्र काम छैन । कम्पनीहरुले आरोहणमा गएबापत निमेक जसरी पारिश्रिमक दिन्छन्, सरकारको तर्फबाट केही दायित्व छैन । त्यसैले नयाँ पुस्तामा यस क्षेत्रलाई फनको रूपमा लिने, रेकर्ड बनाएर नाम कमाउने क्षेत्रको रूपमा लिने तर पेसाको रूपमा नलिने सम्भावना बढेको छ । यो अवस्थाले पर्वतारोहणको क्षेत्रमा नयाँ चुनौती थपेको छ । यसमा विचार पुर्‍याउनु जरुरी छ ।

एनएमएको तीन वर्षे कार्यकाल

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) मा तीन वर्षअघि हामी सन्तवीर लामाको नेतृत्वको टिम चुनिएर आएका हौँ । हाम्रो टिमले मिलेर धेरै कामहरू गरेका छौँ । संस्थालाई व्यवस्थित बनाउने र आरोहण तथा आरोहीको हितमा धेरै काम गरेका छौँ ।

हामी आएपछिको हाम्रो पहिलो काम म्याद सकिएका १५ वटा हिमालको नवीकरण भयो । अहिले एमएमएले २७ वटा हिमालको व्यवस्थापन गर्दै आएका छ । हामी आउने बेला १५ वटाको म्याद सकिएको थियो । सरकारले सङ्घीयता कार्यान्वयन भइसकेको अवस्थामा निजी क्षेत्रले रोयल्टी उठाउन नपाइने भनेर रोकिदियो ।

एनएमएले विगत ४७ वर्षदेखि राष्ट्रिय रूपमा पर्वतीय पर्यटनको क्षेत्रमा सरकारको प्राविधिक अङ्ग जस्तै भएर काम गरिरहेका छ । अन्तर्राष्ट्रिय रूपमा प्रतिनिधित्व गरेर नेपाली हिमालहरूको प्रवर्द्धन गर्दै आएको छ । यसले पर्वतीय पर्यटनमा मात्र होइन, पर्वतीय समुदायको विकासमा समेत काम गर्दै आएको छ । हामी यी तथ्यहरूलाई राखेर छलफल गर्दै गएपछि १५ महिनामा बल्ल ती हिमालहरू नवीकरण गराउन सफल भयौँ ।

अर्को महत्त्वपूर्ण कार्य भनेको मनाङमा संभवत दक्षिण एसियाकै उत्कृष्ट माउन्टेनियरिङ स्कुल बनाउने निश्चित भएको छ । त्यस्तै कोरियन टेलिकमको सहयोगमा अन्नपूर्ण बेस क्याम्पमा सेल्टर हाउस बनाउन सफल भयौँ । लामो समयदेखि अड्किएर बसेको विधान संशोधनलाई टुङ्गोमा पुर्‍यायौँ । विधानले पर्वतीय पर्यटन र आरोहीहरूको सन्दर्भमा धेरै सकारात्मक सुधारहरू गरेको छ ।

संस्थालाई थप व्यवस्थित र पारदर्शी बनाउनका लागि प्रशासनिक नियमावली र आर्थिक विनियमावलीहरुमा सुधार गरिएको छ । आइकाओको झन्डा सगरमाथामा पुर्‍याउनेदेखि लिएर संस्थाको आफ्नै भवन निर्माण सम्पन्न गरेका छौँ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हामीले काम गरेका छौँ । विश्व पर्वतारोहण महासङ्घ र एसियन पर्वतारोहण महासङ्घको सदस्यको नाताले गतिविधिहरूमा सहभागी हुनुका साथै एसियन पर्वतारोहण सङ्घको वार्षिकोत्सव अवसरमा नेपाली र विदेशी आरोहीको संयुक्त आरोहण गरायौँ । त्यस्ता अन्तर्राष्ट्रिय गतिविधिहरूमा नेपालको पर्वतीय पर्यटनको बारेमा कुरा राखेका छौँ ।

पछिल्लो समय ८ हजार भन्दा माथिको हिमालमा पर्वतारोहणमा गएका सहयोगीहरूलाई सरकारले सर्टिफिकेट दिने व्यवस्था रोकिएको थियो, त्यसलाई पुन: सुरु गर्ने कार्य मिलाएका छौँ । एनएमएले पर्वतारोहणमा बेसिक र एडभान्स ट्रेनिङ दिन्छ । एडभान्स ट्रेनिङ गरेकाहरूलाई पर्यटन विभागबाट सर्टिफिकेट दिने काम पनि पाइप लाइनमा छ । हामीले पर्वतारोहणका क्रममा दिवङ्गत भएका ७८ जना आरोहीहरूको बालबच्चालाई पढाउने काम गरिरहेका छौँ । उनीहरूको श्रीमतीहरूलाई सीप सिकाएर रोजगारीको लागि तयार गर्ने काम पनि गरिरहेका छौँ । त्यसै गरी आरोहणका क्रममा अङ्गभङ्ग भएकाहरूलाई पनि थोरै थोरै सरसहयोगहरू गरिरहेका छौँ । उदाहरणको लागि सरकारले हिम चितुवाको उपमा दिएको आङ रिता शेर्पालाई सङ्घले केही सहयोग गरिरहेको छ ।

एनएमएले २७ वटा हिमालबाट उठाएको रोयल्टीबाट बि.सं.२०७४/४/१० को मन्त्रिपरिषद्को निर्णय अनुसार २५ प्रतिशत स्थानीय सरकार, २५ प्रतिशत प्रदेश सरकार र ५ प्रतिशत नेपाल माउन्टेन एकेडेमीलाई जान्छ । बाँकी ४५ प्रतिशत मध्ये १५ प्रतिशत प्रशासनिक खर्चमा प्रयोग गरेर बाँकी ट्रेनिङ, हिमालहरूको प्रचार प्रसार तथा अन्य कार्यक्रमहरूमा खर्च गर्छौँ । यहीबाट दिवङ्गत आरोहीका बालबच्चाहरू पाउनेलगायतका काम गरिरहेका छौँ । १७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङ र आङ रिता शेर्पाको नाममा अक्षयकोष खडा गरिएको छ । पर्वतीय पर्यटनको बारेमा निरन्तर लेख्ने पत्रकार साथीहरू कामका सिलसिलामा भोलि दुर्घटनामा पर्ला वा समस्यामा परेको खण्डमा सहयोग गर्नको लागि पनि अक्षयकोष बनाएका छौँ ।

लकडाउन पछि भने हाम्रो आम्दानी छैन । हिमाल आरोहण रोकिएकोले रोयल्टी उठेको छैन, पोखराको पर्वतीय सङ्ग्रहालयमा कुनै बेला दिनकै तीन हजारसम्म मानिसले अवलोकन गर्थे । यो विश्वकै उत्कृष्ट पर्वतीय सङ्ग्रहालय अहिले बन्द छ । त्यसैले हामी आर्थिक सङ्कटमा छौँ ।

हामीले निजी बैङ्कहरूसँग उनीहरूको कर्पोरेट सोसियल रिस्पोन्सिविलिटी फन्डको अन्तर्गत रहेर दिवङ्गत आरोहीका बालबच्चाहरू पढाई दिन अनुरोध गरेका छौँ । नबिल बैङ्कसँग आरोहीका १५ जना बच्चाहरू पढाई दिने सम्झौता भएको छ । अन्य केही बैङ्कहरूसँग पनि कुराकानी अघि बढेको छ । यस्ता धेरै कामहरू भइरहेका छन् ।

एनएमएको अगामी बाटो

हाम्रो कार्यकाल सकिन लागेको छ । त्यसैले नयाँ आउने कार्य समितिले गर्नुपर्ने केही कार्यहरू देख्छु । मनाङको माउन्टेनियरिङ स्कुल बनाउने जिम्मा नयाँ कार्य समितिलाई जानेछ ।

विश्व पर्वतारोहण महासङ्घ र एसियन पर्वतारोहण महासङ्घसँग मिलेर नेपालको पर्वतीय पर्यटन बारे अन्तर्राष्ट्रिय क्षेत्रमा खुलेर वकालत गर्नुपर्ने छ । यस पटक विश्व पर्वतारोहण महासङ्घको माउन्टेनियरिङ कमिसनको सदस्यमा उहाँहरूले मलाई नियुक्ति गर्नु भएको छ । यो पाँच वर्षको कार्यकाल हुन्छ । उहाँहरूले नेपालमा पर्वतीय पर्यटनको बारेमा अध्ययन अनुसन्धान पनि गरिरहेको भनेर मलाई नियुक्ति गर्नुभएको हो । खासमा विश्वका अल्पाइन क्लबहरूको धेरै भन्दा धेरै गतिविधिहरू नेपालमा गराउनु पर्दछ । एसियन पर्वतारोहण महासङ्घको महाधिबेशसन २०२१ मा नेपालमा गर्ने भनेर हामीले दुई वर्ष अघि नै निर्णय गरेका छौँ । यस्ता कार्यक्रमहरू ल्याउनुका साथै नेपाली र विदेशी आरोहीहरूको संयुक्त आरोहणहरू गराउनु पर्छ । यस्ता कामहरू हामीले पाइपलाइन राखेका छौँ । ती कामहरू सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसै गरी एनएमएमा एउटा रिसर्च सेन्टर खोल्नु पर्छ । हामीले रिसर्च सेन्टर स्थापना गर्ने भनेर निर्णय गरेका छौँ । यो खासमा आरोहीको मात्र संस्था पनि होइन, यसमा प्राज्ञिक, पत्रकारलगायत पनि सदस्य छन् ।

अहिले एनएमएले जम्मा २७ वटा ट्रेकिङ पीकमा मात्र काम गरिरहेको छ । तर हामीले ४८५ वटा हिमालका पिक प्रोफाइलको काम ९९ प्रतिशत सकेका छौँ । त्यसमध्ये २१३ वटा पीकहरु एनएमएलाई व्यवस्थापनको लागि मागेका छौं । ती मध्ये कति खुलेका र केही नखुलेका पीकहरू छन् । हामीले २७ वटा चाही नलगिदेउ अरु चाही निश्चित समयका लागि प्रचार प्रसार गर्न दिनु भनेका हौँ। दश वर्षका लागि दिए पनि हुन्छ भनेका छौँ । त्यसपछि फिर्ता लैजाँदा पनि हुन्छ, विश्वास लागे हामीलाई चलाउन दिँदा पनि हुन्छ । आखिर रोयल्टी त बाँडफाँड गरिएकै छ । त्यतिकै राखेर नयाँ पीक, गन्तव्य केही छैन । त्यसैले यी कार्यहरू हाम्रो पाइप लाइनमा रहेका कामहरू हुन् । तर नयाँ कार्य समिति आउँदा नयाँ मिसन र भिजन लिएर आउला । यद्यपि मैले भनेका यी कामहरू गर्न सकियो भने नयाँ कार्य समिति सफल हुन्छ र नेपालको पर्वतीय पर्यटनको विकासमा योगदान पुग्छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव तथा पर्वतीय पर्यटनको विषयमा मलेसियाको लिंकन कलेजबाट विद्याबारिधी गर्दै गरेका गुरुङसँगको कुराकानीमा आधारित भएर यो लेख तयारी पारिएको हो । 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…