September 12, 2020

पोखरा विमानस्थल २०२१ भित्रै सञ्चालनमा आउने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सन् २०२१ भित्रै सकेर उडान सुरु हुने विश्वास व्यक्त गरेका छन् ।

शनिवार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त विमानस्थल निर्माण स्थलको स्थलगत निरीक्षण गर्दै उनले कोरोना महामारीका बाबजुद निर्माण कार्य निरन्तर भइरहेको बताए ।

विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालन गराउने कुरामा सरकार लागिरहेको उल्लेख गर्दै उनले कोरोना सङ्क्रमणका कारण साधन श्रोत एवम् जनशक्ति अभाव हुन नदिन सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिरहेको पनि बताए ।

उक्त अवसरमा सांसद विद्या भट्टराईले पोखरालगायत मुलुककै समृद्धिमा महत्त्वपूर्ण बन्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन काम समयमै सम्पन्न गर्न आफ्नो तर्फबाट सक्रिय सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनाकर्मीले विमानस्थलको निर्माण हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिएका थिए । भौतिक पूर्वाधार निर्माणको काम अधिकांश सम्पन्न भइसकेको उल्लेख गर्दै उनले उपकरण जडानलगायत काम बाँकी रहेको बताए ।

विमानस्थलभित्र टर्मिनल भवन, ह्याङ्गर, धावनमार्ग, पार्किङ, मार्गसहित १४ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उनका अनुसार विमानस्थलको निर्माणमा हाल १८० चिनियाँ र ९० नेपाली कामदार निरन्तर संलग्न छन् । आवश्यक उपकरण जडानका लागि उपकरणसहित थप २०० दक्ष जनशक्ति चीनबाट आउने तयारीमा रहेको मुनाकर्मीले बताए ।

कोरोना महामारीका कारण निर्माणको गतिमा केही प्रभाव परेका कारण तोकिएको मितिभन्दा छ महिना अगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा नै निर्माण सम्पन्न हुने उनको भनाइ छ ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …