October 22, 2020

जाने होइन त दोलखाको भुतपोखरी?

  • प्रभु जिरेल/चरीकोट

दोलखा । हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने धेरै पर्यटकीय गन्तव्यहरु छन् । त्यस मध्ये गौरीशंकर हिमालको काखमा रहेको विभिन्न खालका पोखरीहरु घुमफिरमा रमाउनेहरुका लागि आकर्षण हुन सक्छन् ।

त्यहो रहेका भुतपोखरीको नामले समेत चिनिने कालोपोखरी, जट्टापोखरी र पाँचपोखरी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

गौरीशङ्कर गाउँपालिकाभित्र पर्ने यि पर्यटकीय स्थलहरुको हालै मात्र अवलोकन भ्रमण गरिएको छ । समुद्री सतहदेखि ८९१ मिटरदेखि ७१३४ मिटरको उचाइसम्म फैलिएको यो गाउँपालिकामा पर्यटनको हिसाबले महत्वपूर्ण भएकाले यहाँको प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गर्दै पर्यटनको क्षेत्रमा विकास गराउने उद्देश्यले गाउँपालिकाका अधिकारीहरुले बताएका छन् । दश १० वर्षे गुरुयोजना बनाएर गौरीशङ्कर संरक्षण क्षेत्रसँग सहकार्य आरम्भ गरेको बताइएको छ ।

पर्यटन सम्भाव्यता अध्ययन तथा अवलोकण भ्रमणका क्रममा र गाउँपालिका– ५ चङ्खुको लुवाङसादेखि दोलखा र रामेछापको सिमाना पर्ने पाँचपोखरी जट्टापोखरीसम्मको क्षेत्रको अवलोकण गराइएको थियो ।

चङ्खुको शेर्पा समुदायको होमस्टे लुवाङसामा बौद्ध परम्परा अनुसार गुम्बाबाट लामाले यात्रा सफलताको शुभकामनासहित शुरु भएको यात्राको पहिलो दिन डेरी, रिउती, स्यारताङ गोसा, पाङदीङ, छयोदिङ हुँदै ३८०० मिटरको उचाइमा पेम्दिङसम्म पुगेको थियो । यस क्षेत्रमा चौरी गाई तथा हिमाली बोट बिरुवाको आकर्षण र शीरमा रहेको गौरीशङ्कर हिमालले यात्रीलाई आनन्द तुल्याउँछ ।

पेम्दिङमा बास वसेर विहान सवेरै यात्रा तय गरेमा १ घण्टाको यात्रा पछि ४१२१ मिटरको उचाइमा बुर्मछे डाँडामा पुग्न सकिन्छ । बुर्मुछे डाँडाबाट दोलखाको अधिकांश ठाउँलाई बिहानको घामको किरणसँगै नियाल्न सकिन्छ । धुपिनी डाँडामा विहानको खाना खाएर पुन यात्रा गर्न सकिन्छ । करिव २ घण्टाको यात्रा पछि मानेडाँडा हुँदै ४२७४ मिटरको उचाइमा रहेको बुकिनी पुग्न सकिन्छ । बुकिनी अत्यन्त सुन्दर छ । बुकिनी खर्कमा मार्वुका चौरी किसानले चौरी पालेका छन् ।

हिमाली जडिबुटी, फूल, तथा हिउँले खिएर तल्लो यालेखर्क पुगेर बास बस्न सकिन्छ । याले खर्कमा हिउँ पग्लेर आएको कञ्चन खोलामा तीर्खा मेटाउन पाइन्छ ।

खिम्ती शीरसम्म गौरीशङ्कर गाउँपालिका चङ्खु मार्वु र जिरी नगरपालिको श्यामाका किसानले चौरी तथा भेडा पाल्ने गरेका छन् । यहाँबाट १ घण्टामा ४४७३ मिटरको उचाइमा रहेको कालोपोखरी पुग्न सकिन्छ ।

समद्री सतहदेखि ४४७३ मिटरको उचाइमा पर्ने यो पोखरीलाई भुतपोखरीको नामले समेत चिनिन्छ । उच्च क्षेत्रमा रहेको यो हिमपोखरीको छुट्टै विशेषता छ । अत्यन्त कालो देखिने यो पोखरीमा टाढैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पोखरी वरिपरी हल्ला गरेमा कुहिरोले पोखरी डाक्ने मान्यता रहेको स्थानीयवासी टीकाबहादुर गुरुङले बताए ।

उच्च क्षेत्रमा रहेको यो पोखरी अत्यन्त आकर्षक छ । जट्टापोखरी पाँचपोखरी क्षेत्रमा दर्शन गरी पुन वासको लागि वेलुका एलेखर्क पुग्न सकिन्छ । एलेखर्कबाट गौरीशङ्कर गाउँपालिका चङ्खुको लुवाङसमा पुग्न सकिन्छ । रासस

तस्बिरहरु: लाला गुरुङ/हाइलाइट्स टुरिजम ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…