May 7, 2021

कामी रिताले तोडे आफ्नै कीर्तिमान, सगरमाथाको चुचुरामा २५ औँ पटक 

कामी रिता शेर्पा ।
काठमाडौँ । सर्वाधिक पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने विश्व रेकर्ड बनाएका कामी रिता शेर्पाले शुक्रवार आफ्नै तोडेका छन् ।
सगरमाथामा आरोहणका लागि डोरी टाँग्ने समूहको नेतृत्व गर्दै गरेका कामी रिताले २५ औँ पटक सगरमाथाको चुचुरा चुमेर यसअघिको २४ पटक सगरमाथा चढेको आफ्नै रेकर्ड तोडेका हुन् ।
सेभेन समिट ट्रेक्स प्रालिका अनुसार शुक्रवार साँझ ६ बजे कमी रितासहित १२ जनाको टोली सगरमाथाको चुचुरामा पुगेको हो । योसँगै कामी रिताले ८ हजार भन्दा अग्लो चुचुरामा धेरै पटक पाइला टेक्ने रेकर्ड पनि बनाएको सेभेन समिटले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको छ । उनले सगरमाथा २५ औँ पटक चोयू ८ पटक, मनास्लु तीन पटक तथा के२ र ल्होत्से एक/एक पटक आरोहण गरेका छन् । यी सबै ८ हजार मिटर माथिका हिमाल हुन् ।
डोरी टाँग्ने समूहले सगरमाथाको चुचुरासम्मै डोरी टाँगी सकेकाले अव सगरमाथा आरोहणको बाटो खुला भएको छ । यस सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्मै सबैभन्दा धेरै ४ सय ८ आरोहीले अनुमति लिएका छन् ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …