हिउँमा जुत्ताको डोब पछ्याउदै, बाटो पहिल्याउँदै
पाल्दोर आरोहणको अनुभव
- लाला गुरुङ
राजधानीबाट धेरै टाढा नभएपनि थोरै मान्छेले मात्र थाहा पाएको र कमै चर्चामा आएको पीक हो, पाल्दोर । रसुवा र धादिङको सिमानामा पर्ने यो पीक जान दुवै जिल्लाबाट सकिन्छ ।
हामीले भने रसुवाको बाटो रोज्यौँ । काठमाडौंबाट फोरह्वीलको जिपमा एकै दिन रसुवाको गत्लाङ पुग्न सकिन्छ । पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकका लागि गत्लाङ केही चर्चामा पनि छ । स्थानीयकै भनाइमा पर्यटकको आवागमन पनि बढेको छ ।
गत्लाङ पाल्दोरलगायतका पीक तथा पर्यटकीय क्षेत्र जाने मूल द्वार पनि हो । यसलाई धेरै अघि त्यस क्षेत्रमा आएका विदेशीहरूले ब्ल्याक भिलेज भनेर नाम राखेका थिए । खासमा ढुङ्गा र काठको छानो भएका घरहरू कालो देखेर उनीहरूले यसो भनेका रहेछन् । तर अहिले फेरिएको छ ।
२०७२ सालको महाभूकम्पले गाउँको धेरैजसो घरहरू भत्काइदिएपछि अहिले रङ्गीचङ्गी जस्ताका छाना हालिएका छन् । सायद यति बेला नाम राख्ने हो भने ‘कलर फुल भिलेज’ भन्थे की ? गत्लाङको आलु चर्चित छ । हामीले पनि स्थानीय आलु पोलेर, ओखर फोडेर टिमुरको आचारसँग खायौँ ।
दोस्रो दिन बिहानै उठेर सिँढी हालेको बाटो उकालो लागियो । भरखर फुल्दै गरेका लालीगुराँस र केही वर्षअघि डढेलोले सखाप बनाएको जङ्गलका बीचबाट हिड्यौं । स्थानीयहरू भन्छन् त्यो जङ्गलमा लागेको डढेलो एक वर्षसम्म निभ्न सकेको थिएनन् । आजको हाम्रो दिउँसोको खाना जङ्गलकै बिचमा भयो । जङ्गलकै बिचमा खाना पकाएर खायौँ ।
खानापछि अगाडि गाइड, बिचमा विदेशीलगायत हामी र पछाडि पनि गाइड नै भएर हिँडेका थियौँ । एक घण्टा जति हिँडेपछि हिँड्न सक्ने र नसक्ने टोली गरेर दुई समूहमा विभाजित भयौँ । हामी हिँड्न नसक्ने टोली पछिपछि आउँदै गर्यौँ । यस वर्ष हिउँ अत्यधिक परेकोले निक्कै गाह्रो भयो । गोडाभन्दा माथिसम्म हिउँ थियो ।
बाटो देखिने अवस्थामा नै थिएन । अगाडि हिँड्नेको पाइला पछ्याएर हिँड्नु पर्थ्यो, त्यो पनि नाकै ठोकिने सिधै उकालोमा । हिउँ नै हिउँको बाटो करिब दुई घण्टा उकालो लागेपछि लगभग दिउँसोको चार बजेतिर हामी खुर्कु भञ्ज्याङ पुग्यौँ । यो ३८ सय मिटर उचाइमा रहेको छ ।
यहाँ पुग्दा मौसम बिग्रिसकेको थियो । पुरै अँध्यारो कालो अगाडि केही देख्नै नसक्ने अवस्था भयो । खोर्कु भञ्ज्याङमा १० मिनेट जति आराम गरेर चकलेट र तातो पानी खाएपछि ओरालो झर्यौं ।
यति बेला हामीसँग गाइड थिएन । हामी निक्कै पछाडि परिसकेका थियौँ । लगभग सय मिटर जति ओरालो झरिसकेपछि दोबाटो आयो । मलगायत तीज जना कोरियन आरोही दोधारमा पर्यौं कुन बाटो जाने ? हामी भन्दा पछाडि भरियाहरू त थिए तर निक्कै टाढा ।
जुत्ताको डाम हरेर हामीले दाहिनेतिर जाने निर्णयमा पुग्यौँ । त्यो निर्णय सही भएछ । हामी सही बाटो रोजेका रहेछौँ । नत्र राती हामी त्यही अन्कन्टार हिउँमा हराउने निश्चित थियो । राती करिब ८ बजेतिर सोमदाङ पुग्यौँ । बाटोमा हिउँ नै हिउँ थियो । कुनै पनि मानव बस्ती थिएन । जुत्ता र शरीर पुरै भिजेको थियो । केही भरियाहरू त अझ साढे ११ बजेतिर मात्र आइपुगे ।
सोमदाङमा ८/१० वटा घरहरू छन् । होटेल पनि छ । यो धादिङको रुवीभ्यालीमा पर्दछ । सोमदाङमा पुगेर तातो चिया र उसिनेको आलु खाएपछि बल्ल ज्यानमा श्वास भरियो । भोलिपल्ट पनि सोमदाङमै आराम गरेपछि हामी पाल्दोरको हाइक्याम्पतिर लाग्यौँ ।
जङ्गलको बीचैबीच खोलाको छेवैछेउ कहिले रसुवा र कहिले धादिङको भूमि टेक्दै उकालो लागेपछि हामी हाइक्याम्पमा पुग्यौ । पहिला नै साथीहरू त्यहाँ पुगेर क्याम्प सेट गरेर बसिसकेका रहेछन् । खाना बनाइसकेको रहेछ । खाएर त्यही आराम गर्यौँ ।
भोलि पल्ट हाइ क्याम्पबाट पनि हामी हिउँ नै हिउँ छिचोलेर पाल्दोर हिमालको श्रृंखला हेर्दै छ घण्टाको यात्रा पछि आधार शिविर पुग्यौँ । त्यहाँ पनि पहिला पुगेकाहरूले टेन्ट टाँग्ने र खाजा बनाउने काम गरिसकेका रहेछन् । हामी त्यही बस्यौँ । पानीको अन्य स्रोत नहुँदा हिउँ पगालेर खानुको विकल्प थिएन । यो आधार शिविर ४ हजार ८ सय मिटरको उचाइमा छ ।
धादिङको रुवी भ्यालीमा पर्ने पाल्दोर पीक पाँच हजार ९ सय ३ मिटर अग्लो छ । एक दिन आधार शिविरमा आराम गरेपछि योजना अनुसार आरोही साथीहरू पाल्दोर पीक आरोहणमा गए । युनियन अफ एशियन अल्पाइन एशोसिएसनको रजत महोत्सवको अवसरमा पाल्दोर चढ्न गएका कोरियाली र नेपाली गरी १३ जना आरोहीहरूले पाल्दोरको आरोहण गरे । उनीहरूले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनसमेत गरेका थिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…