क्यानले निगमलाई जापान उडान अनुमति दियो, आधा घण्टा काम रोकेर उड्न दिइने
काठमाडौँ । नेपाल वायुसेवा निगमलाई आगामी भदौ १२ गतेदेखि जापानको ओसाका उडानका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान अनुमति दिएको छ । विमानस्थल मर्मतको समयमा आधा घण्टा काम रोकेर निगमको विमान उड्न दिने क्यानले जनाएको छ ।
निगमले विमानस्थल मर्मत र आफ्नो उडान समय जुधेकाले केही समय काम रोकेर भए पनि उडान अनुमति दिन क्यानलाई अनुरोध गरेको थियो । त्यही पत्रको आधारमा शुक्रवार अनुमति दिएको हो ।
‘निगमले हामीलाई पठाएको पत्रलाई आधार बनाएर पूर्ण रूपमा सरकारी स्वामित्वको विमान सेवालाई हामीले सहयोग गरेका हौँ’, क्यानका महानिर्देशक राजन पोखरेलले भने, ‘हामीले निगमलाई जम्मा ३० मिनेटको समय दिएका छौँ । ३० मिनेटमा निगमले उडान गर्नुपर्ने हुन्छ ।’
क्यानले भदौ १६ गतेदेखि पुस १५ सम्म राती ७ घण्टा विमानस्थल बन्द गरेर मर्मत गर्दैछ । राती ११:३० देखि बिहान ६:३० सम्म धावनमार्गसँग जोडिएको ट्याक्सी वे तथा अन्य बाटो निर्माणको लागि विमानस्थल बन्द गर्न लागेको हो ।
काठमाडौँबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उड्ने निगमको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६:०० बजे काठमाडौँ आइपुग्ने छ ।
लामो दुरी उडानका लागि विमान अभाव रहेको भन्दै सन् २००७ सालदेखि उडान बन्द भएको जापानमा निगमले भदौ १२ गतेदेखि वाइड बडी विमानबाट उडान सुरु गर्न लागेको हो । यसअघि असार १९ गतेका लागि उडान तालिका सार्वजनिक गरेको निगमले यात्रु अभाव भन्दै पुनः दोस्रो उडान तालिका सार्वजनिक गरेको हो ।
काठमाडौँ–ओसाका रुटमा निगमले इकोनोमी क्लासका लागि एकतर्फी भाडा दर ४५ हजार रुपैयाँ तोकेको छ। दुई तर्फी भाडा दर ७७ देखि ८० हजार रुपैयाँ हुने बताइएको छ । मङ्गलवार, बिहीबार र शनिवार गरी सातामा तीन दिन ओसाका उडान हुनेछ ।
यो पनि पढ्नुस्
– निगमको जापान उडान अझै अन्योलमा, विमानस्थल मर्मत र उडान तालिका जुध्यो
– निगमको चीन उडान पनि अझै अनिश्चित, चिनियाँ सिभिल एभिएसनद्वारा ‘सेफ्टी अडिट’को प्रस्ताव
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…