नेपाली पर्यटन : अवसर पनि चुनौती पनि
- नवराज दाहाल
जहाँ अवसर छ, त्यहाँ समस्या र चुनौती हुन्छ । त्यसैले नेपाली पर्यटनमा चुनौती र समस्या छ । त्यही समस्याको निराकरण र भविष्य सुनिश्चित होस् भनेर नेपालको पर्वतीय पर्यटनमा सुधारका लागि प्रतिवेदन पेस गरिएका हुन् ।
समस्याहरू जटिल छैनन् । मन्त्रालय वा सरकारले गम्भीर रूपमा सोच्ने र निजी क्षेत्रले त्यही अनुरूप लिने हो भन समस्याको समाधान गर्न गाह्रो छैन । हामीले बझाएको प्रतिवेदनले सगरमाथालगायत हिमाल आरोहणलाई बढी सुरक्षित र मर्यादित कसरी बनाउने भन्ने सुझावहरू दिएको छ । यसले आरोही घटाउने होइन, आगामी दिनमा झनै उत्साह बढाउने छ ।
खास गरेर नेपालमा पदयात्रा होस् वा आरोहणका लागि आउने पर्यटक हुन्, उनीहरूको सुरक्षा र सुविधा पहिलो प्राथमिकतामा पर्नु पर्छ । यसका लागि सबै मिलेर समस्याको समाधान गर्नु पर्ने हुन्छ । व्यवसायीहरू राज्यप्रति जिम्नेवार र राज्यले पनि उनीहरू त्यही अनुसार प्रोत्साहित गर्नुपर्छ । त्यसले मात्र नेपाल आउने पर्यटकको पनि गुणस्तर बढाउन सकिन्छ ।
यो प्रतिवेदनले २०–३० वर्षदेखि निजी क्षेत्र अझ विशेष गरेर ट्रेकिङ एजेन्सिज एसोसिएसनले उठाउँदै आएको विषय सम्बोधन गरेको छ । माननीय मन्त्रीज्यूले सार्वजनिक रूपमै कार्यान्वयन गर्छु भन्नु भएको छ । यसले गतिलिनेमा आशावादी हुन सकिन्छ । अझ केही अपुग भए थप हुँदै जानेछ ।
नयाँ गन्तव्यका बारे
नयाँ गन्तव्यहरू चल्तीमा आउनका लागि पहिलो काम त्यसको प्रवर्द्धन गरिनु पर्छ । हामीले विगत लामो समयदेखि केही क्षेत्रलाई मात्र प्रवर्द्धन गर्दै आएका छौँ । पूर्वाधारको कुरा पनि यस्तै छ ।
नयाँ गन्तव्यहरू चल्तीमा आउन नसक्नुमा यो वा त्यो होइन । हामी सबैको कमजोरी छ । व्यवसायीहरू पनि जता बढी फाइदा हुन्छ त्यता लागेकै हो ।
तर, अहिले बुझाएको प्रतिवेदनले पनि केही हदसम्म यो विषयलाई समेटेको छ । सगरमाथालगायत हिमालहरू आरोहण अघि त्यो भन्दा होचो हिमाल आरोहण गरेको हुनुपर्छ भने पछि अरू हिमालहरू पनि चढ्न प्रोत्साहित हुनेछ ।
यसको एउटा कमजोरी भनेको राज्य र निजी क्षेत्रलेबीच राम्रो समन्वय हुन सकेन । त्यही ढङ्गले योजना बन्न सकेन । त्यही अनुसारको नीतिहरू बन्न सकेन । यी आदि कारणले पछाडि परेका हौँ ।
खासमा विगतमा पर्यटनलाई महत्त्व नै दिइएन । अहिले आएर मात्र कृषि, जलश्रोत र पर्यटनलाई समृद्धिको आधार भनिएको छ । यसअघि यसलाई एउटा सामान्य खेलको रूपमा मात्र लिइन्थ्यो । उद्योगको रूपमा लिइएन ।
अहिले पर्यटनलाई लिएर सबैको बुझाई फेरिँदै गएको छ । भविष्यमा नेपालको समृद्धिको सबैभन्दा महत्त्वपूर्ण आधार पर्यटन नै हुने छ । नेपालको पर्यटनको कुरा गर्दा एड्भेन्चर टुरिजम नै प्रमुख हो । तर त्यसमा काम गर्ने व्यवसायीहरूको छाता सङ्गठन टानलाई हेर्ने दृष्टिकोण राज्यको फरक रह्यो । हामीले गर्न बुझाउन सकेनौँ या बुझ्नु पर्नेले बुझ्न चाहेनन् । हामीले हाम्रो तर्फबाट कसरी सँगै मिलेर जान सकिन्छ भनेर पटक–पटक भनेका हौँ । लिखित रूपमा दिएका पनि छौँ । तर सुनुवाइ भएन ।
अहिले बल्ल आएर एउटा कार्यदल बनेर निजी क्षेत्रको सवालहरू समेटेर प्रतिवेदन तयार भएको छ । मन्त्रीज्यूले पनि सार्वजनिक रूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अबका दिनमा सुधार हुने अपेक्षा राखेका छौँ ।
पर्यटन बोर्ड प्रवर्द्धनमा केन्द्रित हुनु पर्छ
नेपाल पर्यटन बोर्ड पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न बनेको हो । तर यसलाई हामीले रिसोर्स सङ्कलनदेखि पूर्वाधार निर्माणसम्म लगाएका छौँ । मन्दिर, पुललगायत कति पर्यटनसँग असम्बन्धित काममा पनि बोर्ड संलग्न गराइएको छ । प्रवर्द्धनको काम कम र अरूतिर बढी संलग्न भए जस्तो देखियो । केही निश्चित पहुँचवाला र माफियाले चलाइरहेको अवस्था छ ।
मेरो विचारमा नेपाल पर्यटन बोर्ड प्रवर्द्धनमा मात्र केन्द्रित हुनुपर्छ । अरू काममा लाग्नु हुँदैन । पर्यटनसँग सम्बन्धित भए पनि पूर्वाधारको काम गर्ने अर्कै निकाय चाहिन्छ । देश सङ्घीयतामा गएकोले बोर्डको संरचना जे छ त्यसले हुँदैन यो बदल्नु पर्छ । निजी क्षेत्रको प्रतिनिधित्व भए पनि वास्तविक भएन । संस्थागत प्रतिनिधि हुनुपर्छ ।
मेरो कार्यकाल स्वर्णकाल हो भन्दिन
आफ्नै कार्यकाललाई फर्केर हेर्दा टानले उठाउनु पर्ने कुराहरू उठाइयो । गर्नुपर्ने कामहरू गर्यौँ भन्ने लाग्छ । हामी ४१ औँ वार्षिक साधारण सभा गर्न गइरहेका छौँ । विगतमा अग्रजहरूले धेरै राम्रो काम गर्नु भयो । यद्यपि विगत केही वर्षयता सचिवालयदेखि आर्थिक अवस्था निक्कै जर्जर अवस्थामा थियो । नाजुक थियो । गर्नु पर्ने कामहरू गर्न सकिरहेको थिएन । अलि बढी अस्वस्थ खालका राजनीति टानमा हुने गर्यो । अहिले ती समस्याहरूबाट करिब करिब मुक्त भएको अवस्था हो । ऋण मुक्त टान, व्यवस्थित सचिवालय, आफैले गतिविधि गर्न सक्ने अवस्थाको सृजना भएको छ । टान आफै पूर्वाधार निर्माण गर्ने संस्था होइन । हाम्रो तर्फबाट धेरै खालका सल्लाह सुझावहरू हामीले मन्त्रालयमा, बोर्डमा र अरू धेरै निकायमा पुर्याउनु पर्ने थियो, त्यो पुर्यायौँ भन्ने लाग्छ ।
यद्यपि मैले मेरो कार्यकाल स्वर्णिम भयो भनेर भन्न सक्ने अवस्था छैन । बाहिरबाट जे गर्न सकिन्छ जस्तो लाग्दो रहेछ, त्यति गर्न सकिने हुँदो रहेनछ । अनि दुई वर्षको अवधि अलि छौटो पनि हुँदो रहेछ ।
टिम्सको समस्या
निर्वाचित भएपछि टिम्सको समस्या छिट्टै समाधान होला भन्ने लागेको थियो । मन्त्री र सचिवलाई बुझाएपछि उहाँहरूले बुझेर समाधान गर्न खोज्नु भएको पनि थियो । तर परिस्थिति फेरियो । नयाँ सचिव आउनु भयो । अहिलेका सचिवज्यू पनि यो समस्या समाधान गर्नु पर्छ भन्नेमा हुनुहुन्छ । नयाँ मन्त्री आउनु भएको छ । उहाँलाई पनि हामीले भनेका छौँ ।
तर, यो समस्या किन समाधान भएन भन्ने कुरा म पनि जान्दिन । यसमा टानले पहल गरिरहेको छ । यसमा पर्यटन बोर्डका बोर्ड अफ डाइरेक्टरहरू त्यसमा पनि निजी क्षेत्रबाट गएकाहरूको चाहना हुनु पर्दो रहेछ । यो कसले रोकेको छ । मैले अझै बुझ्न सकेको छैन ।
मेरो बिचारमा यो त्यति जटिल कुरा होइन । पर्यटकको सुरक्षाको कुरा थियो, मजदुरका सेवा सुविधा र सुरक्षाका कुरा थिए । राज्यले पाउनु पर्ने राजस्व पाएन भन्ने थियो । यी सबै सरोकारहरूलाई समाधानका लागि टिम्स ल्याइएको हो । टुरिजम बोर्ड र टानका बिचमा साझेदारी गरेर आउँदै गरेको पनि हो । एक प्रकारको समझदारी भएको थियो, त्यसैको आधारमा टिम्स कार्यान्वयन गरिँदै आएको पनि हो ।
पछि बुझाई के भयो भने टिम्स आएपछि टानमा पैसा धेरै भयो । अलिकति अराजक भयो की भने जस्तो कुरा आयो । टानले त पैसा खोजेकै होइन । पैसा टानलाई चाहिएको पनि होइन । निर्माण वा प्रमोसनको काम कि त राज्यले गर्छ की त टुरिजम बोर्डले गर्छ । हामीले त विधि खोजेको हो नि । तर, पछिल्लो समय कार्यान्वयनको सवालमा टान र पर्यटन बोर्ड दुवैको तर्फबाट केही कमी कमजोरी भए । विधि हराउँदै गयो । पैसामा केन्द्रित हुन थाल्यो । हामीले टानमा पैसा देऊ भनेको होइन, उठेका पैसा हरहिसाव गरेर पारदर्शी ढङ्गले सम्बन्धित क्षेत्रको प्रमोसनको लागि खर्च गर्नुपर्छ भनेको हो । हामीले त्यो पैसा तालिममा, प्रमोसनमा र पूर्वाधार विकासमा खर्च गरौँ भनेका हौँ ।
नयाँ नयाँ गन्तव्यहरू खोजौँ, वैकल्पिक ट्रेकिङ ट्रेलहरू निर्माणमा लगाऔँ भनेका हौँ । तर, हिसाब पारदर्शी हुनुपर्यो नि । टानमा विगतदेखि अपारदर्शी काम भएको छ भने त्यसलाई पनि उजागर गरौँ । को कोले के के हिसाब बुझाउनु पर्छ त्यो पनि बुझाइ दिऊँ र टुरिजम बोर्डबाट भएका अपारदर्शी कुराहरू पनि ल्याऊँ । अनि आम्दानी कति हो, को कसको भागमा कति परेको छ, त्यो हिसाब गरेर जिम्मेवारी अनुसार खर्च गर्ने हो । हामीले यो कुरा उठाइ रह्यौँ, हुन्छ भनी रह्यो, तर हुन सकेन । अहिले नयाँ सचिवज्यू आउनु भएपछि पर्यटन विभागको महानिर्देशकको नेतृत्वमा नयाँ कार्यदल बनेको छ । पाँच जनाको कार्यदल छ । एक महिनामा यो काम सकाउने भन्ने थियो । दुई महिना हुन लागि सक्यो । मैले दिन दिनै भने जस्तो संयोजकज्यूलाई फोन गरेको छु, पर्यटन बोर्डका सम्बन्धित अधिकारीहरूलाई फोन गरेको छु । संयोजकज्यूले टुरिजम बोर्डबाट मैले सहयोग पाइन भनिरहनु भएको छ । मैले खोजेको डकुमेन्टहरू पाइन भनिरहनु भएको छ । टिम्स सुरु भएपछिको अध्यक्षहरू सबैलाई बोलाएर संयोजकसँगै बसेर सबै जानकारीहरू लिनुभयो । छलफल भयो । केही साताभित्रै यस कार्यदलले पनि राम्रो खालको समाधान गर्ने खालको प्रतिवेदन ल्याउने छ भन्ने मलाई लागि रहेको छ ।
भिजिट नेपालमा समन्वयको अभाव
नेपाल भ्रमण वर्ष २०२० सही समयमा घोषणा गरेको हो । यो अभियानले प्रवर्द्धनमा टेवा पुग्ने छ भन्ने मलाई लागेको थियो र छ । बिचमा सुस्ताउनुको कारण तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधन पनि एउटा कारण हो । उहाँको निधन पछि तत्काल मन्त्री नपाउनु एउटा कारण रह्यो भने अरू पनि विभिन्न कारणहरू हुन सक्छन् । त्यहाँ समायोजन राम्रो हुन सकेन । टिम वर्क पनि राम्रो हुन सकेन । निजी क्षेत्रका सबै साथीहरूले स्वामित्व लिने खालको अवस्था तत्काल बन्न सकेन । यी सबै कारणले गर्दा सोचेको जस्तो गरी अघि बढ्न सकेन ।
यद्यपि नेपाल भ्रमण वर्ष २०२० भनेको एउटा अभियान हो । यसले २० लाख पर्यटक ल्याउनका लागि पहल गर्छ । तर यहाँ बुझाई के भयो भने सिङ्गो देशको निर्माण नै यसले गर्ने भने जस्तो भान पर्यो । बरु यो अभियान सफल बनाउनका लागि राज्यले सक्दो सहयोग गर्नुपर्छ र निजी क्षेत्र पनि त्यसमा आबद्ध हुनुपर्छ । सबैले यसको स्वामित्व लिनु पर्छ ।
– कुराकानीमा आधारित
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…