यस्तो छ वेदव्यासको जन्मस्थललाई पर्यटकीय गन्तव्य बनाउने तयारी
व्यासको १०८ फिटको मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न महायज्ञ सुरु
पोखरा– वेद, उपनिषद्, बह्मसुत्र, महाभारत आदि ग्रन्थका लेखक वेदव्यास जन्मेको भूमिलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्ने पहल थालिएको छ ।
धेरै सम्भावना बोकेर पनि पूर्वाधार विकास एवं प्रवर्द्धनको अभावमा पछि परेको वास्तविकतालाई ध्यानमा राखेर व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले यसको उजागर गर्दै यो स्थललाई धर्म र पर्यटनको सङ्गमस्थलका रुपमा अघि बढाउन लागेको हो ।
विस्तृत परियोजना प्रतिवेदन एवं गुरुयोजना तयार पारेर यस क्षेत्रमा १०८ फिट उचाइको भगवान् वेदव्यासको मूर्तिसहितका विभिन्न संरचना निर्माण गर्न लागिएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । ‘भगवान् वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमञ्चमा चिनाउँदै यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीयस्थलका रुपमा प्रवर्द्धन गर्न लागिएको हो,’ उनले भने, ‘यहाँको ७२ रोपनी क्षेत्रफललाई समेटेर करिब ६४ करोडको लागतमा विशाल मूर्तिसहितका संरचना निर्माण गर्न लागेका छौँ ।’
परियोजना प्रतिवेदनअनुसार ४० फिट अग्लो तीन तल्ले भवन माथि १०८ फिटको व्यासको मूर्ति राखिनेछ । तीन तल्ले भवनमा भित्र पुस्तकालय, अडिटोरियम हल, वाचनालयलगायतका विभिन्न संरचना निर्माण हुनेछन् । निर्माण सुरु गरेपछि चार वर्षमा काम सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
वेदव्यासको जन्म तथा कर्म भूमि यस स्थलमा विशाल मूर्तिसहितका संरचना निर्माण भएसँगै यो अन्तरराष्ट्रियरुपमा नै आकर्षक पर्यटकीय गन्तव्य बन्ने विश्वास लिइएको उनले बताए । लक्षित परियोजनालाई साकार पार्न सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले यसको प्रारम्भस्वरुप यही माघ २० देखि २८ गतेसम्म सत्यवती पार्क दमौलीमा श्रीमद् भागवत सप्ताह विराट ज्ञान महायज्ञ सुरु भएको छ ।
पर्यटकीय नगरी पोखराबाट जम्मा ४८ किलोमिटर दूरीमा रहेर पनि ऐतिहासिक, धार्मिक एवं पर्यटकीय यो अझै ओझेलमा परेको कोषका प्रमुख संरक्षक काशीनाथ न्यौपानेले बताए । उनका अनुसार २८ औँ व्यासावतार श्रीकृष्ण द्वैपायन दमौलीमा अवतरित भएको पुराण तथा ग्रन्थमा उल्लेख छ । विभिन्न धर्मग्रन्थमा उल्लेख भएअनुसार सेती र मादी नदीको सङ्गमस्थल वयरघारी वनयुक्त द्वीपमा महर्षि पराशरको अंश र सत्यवतीको कोखबाट श्री कृष्णद्वैपायनको जन्म भएको र जन्मनासाथ आमाको अनुमतिले चिरकालसम्म तपस्या गरी तपस्वीका रुपमा रहेका थिए ।
वेदव्यासको जन्मभूमि भएर पनि यसको प्रचारप्रसार हुन नसकेको वास्तविकतामा १०८ फिटको भगवान् वेदव्यासको मूर्तिसहितका संरचना निर्माणसँगै यो क्षेत्र महत्वपूर्ण धार्मिक पर्यटकीयस्थलका रुपमा विकास हुने विश्वास लिइएको छ । यस आसपासका पराशर आश्रम, सत्यवतीको प्रशव वेदना झल्काउने शिला, सत्यवतीकी आमा मत्स्यगन्धा झल्काउने शिला, राजा उपरीचरले पालेको बाज पक्षी झल्काउने शिला, कहिल्यै नसुक्ने सत्यवती कुण्ड, व्यास गुफा, मत्स्योदरी कुण्डजस्ता धेरै स्थलले पनि यहाँको धार्मिक एवं ऐतिहासिक महत्वलाई उजागर गरेको छ ।
व्यास क्षेत्रको विकाससँगै यस आसपासका महत्वपूर्ण पर्यटकीयस्थल तनहुँसुर, बन्दीपुर, भानु जन्मस्थल, शिखर कटेरी, ऋषिङ रानीपोखरीलगायतकोे समेत विकास हुने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकले मादी सेती जलविहार, पदयात्रा, गुफा अवलोकनका साथै घरवास (होमस्टे)मा गएर स्थानीय संस्कार र संस्कृतिको प्रत्यक्ष अनुभूति गर्न पाउँछन् ।
तनहुँमा देवघाट, ढोरबाराही, छाब्दी बाराही, थानीकोट, गलेखाम कोटभैरवी, आँधीमूल, तीनखोले देवी, तनहुँकालिका, अकलादेवीलगायतका धार्मिकस्थल पनि छन् । यहाँका टुटेपानी, मिछुर्लुङ, हिलेखर्क, छिम्केश्वरी, धरम्पानी, नाबरुङ्ग, रानागाउँ, थप्रेक, रघु, छापथोक नमूना गाउँ, तनहुँसुर, दगाम/भुजिकोट, पिपलथोक, रामकोट गाउँमा घरवास सञ्चालनमा आइसकेको छ ।
व्यास क्षेत्रसहित यहाँको पर्यटकीय विकासले कास्की, स्याङ्जा, बागलुङलगायत समग्र प्रदेशको पर्यटकीय विकासमा समेत योगदान पुग्ने तनहुँ सम्पर्क समाज पोखराका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले बताए । धेरै सम्भावना बोकेर पनि वेदव्यासको जन्मस्थल पछि परेको वास्तविकतामा लक्षित परियोजना सम्पन्न गरेसँगै यसले राष्ट्रिय एवं अन्तरराष्ट्रियरुपमा चासो र चर्चा पाउने पर्यटनविज्ञ श्रीकान्त खतिवडाको भनाइ छ ।
धर्म र पर्यटनलाई जोड्दै यो स्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनका लागि लक्षित परियोजना सफल बन्नुपर्ने नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । व्यास क्षेत्रले समग्र तनहुँको गरिमा र महत्व बढाएको बताउने तनहुँ सम्पर्क समाज पोखराका पूर्वअध्यक्ष चन्द्रविक्रम अधिकारीले विशाल मूर्तिसहितका संरचना निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक हुने धारणा राखे ।
महायज्ञ सुरु
दमौलीमा निर्माण गर्न लागिएको बेदव्यासको १०८ फिटको मूर्तिले धार्मिक पर्यटनमा भूमिका खेल्ने भएकाले आगामी बजेटमा सरकारका तर्फबाट पर्याप्त बजेट विनियोजन गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार दमौलीमा महायज्ञ उद्घाटन गर्दै मन्त्री भट्टराईले मुलुकको विकासका लागि सरकार कार्ययोजनासहित अगाडि बढेको बताए।
नेपाल धार्मिक सहिष्णुता मुलुक भएकाले अन्य धर्मका मानिस पनि मूर्ति अवलोकनका लागि आउने र यसले समग्र तनहुँकै पर्यटनमा योगदान पुग्ने उनको भनाइ थियो । मन्त्री भट्टराईले पुरानो मौलिक सहर बन्दीपुर, धार्मिक ऐतिहासिक स्थल देवघाट, आदिकविको जन्मस्थल चुँदीरम्घालाई व्यवस्थितरुपमा विकास गर्ने सरकारको सोच रहेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य केदार सिग्देल, कृष्णकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले मूर्ति निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिए ।
यही माघ २८ गतेसम्म सञ्चालन हुने महायज्ञमा करिब पाँच करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । गुरुयोजनाअनुसार सबै संरचना निर्माणका लागि ६४ करोड खर्च हुने भए पनि कोषमा ५० लाख मात्रै रहेकाले महायज्ञमार्फत बजेट जुटाउने प्रयास गरिएको श्रेष्ठले बताए ।
व्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाउन खोजिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।
व्यासमूर्ति सहित सबै संरचना निर्माणका ६२ करोड ८५ लाख पाँच हजार २११ बजेट लाग्ने अनुमान गरिएको छ । अर्थक्वेक सेफ्टी सोलुशन्सले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान छ ।
निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै सात करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ । पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यकपर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ ।
गुरुयोजनानुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पूजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…