थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार जनाएकोे छ ।
तीमध्ये १७९ पुरुष र २२ जना महिला छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार ३०० पुगेको छ । यसैगरी कोरोनाका कारण दोलाखाका ७६ वर्र्षीय पुरुषको उपचारका क्रममा मंगलबार निधन भएको मन्त्रालयले जनाएको छ । उनी यही जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि भर्ना भएको र ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि अप्रेसन गरिएको थियो ।
साथै जेठ १५ गते स्वाब परीक्षणपश्चात कोरोना सङ्क्रमण देखिएपछि थप उपचारका उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या नौ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
त्यस्तै मंगलबार मात्रै १२ जना सङ्क्रमित व्यक्ति कोरोनालाई जितेर घर फर्किएका छन् भने हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको सङ्ख्या २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर पिसिआर विधिबाट चार हजार ९२४ र आरडिटी विधिबाट चार हजार ३४ परीक्षण गरिएको उनले जानकारी दिए । हाल मुलुकभर एक लाख ५५ हजार ८६८ व्यक्ति विभिन्न क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म ६४ जिल्लामा कोरोना सङ्क्रमण फैलिएकोे छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…