July 1, 2019

सगरमाथा आरोहण सुरक्षित बनाउन दर्जन सुझाव

आरोही भन्छन्, 'अनावश्यक उछालेर देशकै बेइज्जत गरियो'

Issues of Mt. Everest climbing : An interaction with climbers and stackholdersकाठमाडौं । पर्वतारोहणसँग सम्बन्धित व्यक्तिहरूले सगरमाथामा भएको ट्राफिक जाम र मृत्यलगायतका विषयलाई अनावश्यक रूपमा उछालिएको गुनासो गरेका छन् ।

सगरमाथा आरोहणको वास्तविकतालाई नै नजरअन्दाज गरेर आरोहण क्षेत्रको मात्र नभई मुलुककै बेइजती गरिएको उनीहरुको धभनाई छ । उनीहरू भन्छन्, ‘सगरमाथा आरोहण र आवतरण एउटै डोरीको मध्यबाट हुने हुँदा जाने र फर्कने क्रममा अवरोध हुने गरेको र त्यो यही वर्ष मात्र नभएर सधैँ हुने गरेको छ ।’

नेपाल पेवतारोहण सङ्घले आयोजना गरेको ‘सगरमाथा आरोहणका सवालहरू बारे आरोही र सरोकारवालाहरूसँगको छलफल’ विषयक कार्यक्रमका सहभागीहरूले केही विदेशी मिडियाले विना आधार फैसलाएको हल्लाको पछि लागेर सरकारकै जिम्मेवार व्यक्तिहरूले पनि अभिव्यक्ति दिनु दुखद रहेको बताए ।

उनीहरूले विभिन्न कोणबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसर पारेर सगरमाथा आरोहण बन्द गर्नु पर्ने आवाज आइरहेको भन्दै त्यसको परिणाम बारे विचार नगरिएकोसमेत उल्लेख गरे ।

…………………………….

आरोही तथा व्यवसायीका मुख्य सुझावहरू

  • रेश्क्यु टिमको व्यवस्था गर्नुपर्ने
  • जाँदा र आउँदाको डोरी छुट्टाछुट्टै हुनुपर्ने
  • सगरमाथा आरोहणअघि अरू हिमाल चढेको अनुभव अनिवार्य गर्नुपर्ने
  • शारीरिक रूपमा आशक्तहरूलाई चढाउन नहुने
  • अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने
  • रेश्क्यु बाहेक हेलिकप्टरलाई बन्देज लगाउनु पर्ने
  • फोहोरको लागि धरौटी होइन, निश्चित रकम उठाउने र फोहोर उठाउने व्यवस्था गर्ने
  • लियजन अफिसरको भूमिका प्रभावकारी बनाउनु पर्ने

…………………………………………

यो वर्ष सगरमाथा आरोहणको क्रममा लामो ट्राफिक जाम भएको र त्यसैका कारण आरोहीको मृत्युसमेत भएको खबर बाहिरिएपछि त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको थियो । त्यस लगतै प्रधानमन्त्री केपी ओलीको बेलायत भ्रमणका क्रममा बीबीसी विश्व सेवाले लिएको अन्तर्वार्ता समेत यही विषयमा केन्द्रित बनेको थियो ।

हाल मृत्युको सङ्ख्या बढेको, आरोहणको क्रममा लापरबाहीहरू भएको, फोहोर बढेको भन्दै विभिन्न कोणबाट सगरमाथालाई केही वर्ष विश्राम दिनुपर्ने भनाइहरू पनि आइरहेको छ ।

यही विषयमा वास्तविकता के हो र भविष्यमा लिनु पर्ने रणनीतिका बारेमा सङ्घले सुझाव सङ्कलनको लागि कार्यक्रम गरेको हो ।

आरोही र आरोहण व्यवसायीहरूले आफुहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएको स्वीकार गरे पनि त्यही कारण दुर्घटना भएको भन्ने कुरालाई अस्वीकार गरेका छन् ।

‘जाँदा र आउँदा केही समय जाम भएको हो, तर यसलाई न्यूनीकरण गर्ने तरिकाहरू छन्’ आरोही तथा व्यवसायी कामी शेर्पाले भने, ‘सरकारले एउटा नीति बनाएर पहिले अनुमति लिनेले पहिले चढ्ने व्यवस्था गर्न सकिन्छ । त्यसै गरी जाने र आउने एउटै डोरीको ठाउँमा जाने र आउने छुट्टाछुट्टै डारी राखेर सहज बनाउन सकिन्छ ।’

व्यवसायी बच्चु नारायण श्रेष्ठले सरकारी लियजन अफिसरहरूले आफ्नो जिम्मेवारी पुरा नगरेको उल्लेख गर्दै नयाँ पर्यटन नीति बनाएर पर्वतारोहणलाई समेट्नु उपयुक्त हुने बताए ।

आरोही दावा शेर्पाले भने विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूले सगरमाथाको आरोहण गर्दा/गराउँदा अरुलाईसमेत जोखिममा पारेको बताइन् ।

व्यवसायी तथा रेश्क्यु चिकित्सक डा. निमा नाम्ग्याल शेर्पाले रेश्क्युको लागि सरकारले विशेष ध्यान दिनु पर्ने उल्लेख गरे । ‘हामीले आरोहण गर्दै आएको यतिका वर्षमा सरकारले अहिलेसम्म रेश्क्यु टिम नै बनाएको छेन ।’

नेपाल माउन्टेनियरिङ एकडेकी अध्यक्ष लाक्पा फुटी शेर्पाले आरोहण जोखिमको काम भएको कुरामा सबै स्पष्ट हुनुपर्ने उल्लेख गरिन् । ‘मर्न पनि सकिन्छ भनेरै आएको हुन्छ, गएको हुन्छ’ उनले भनिन्, ‘यस्तो विषयमा अनावश्यक रूपमा देशको बेइज्जत गरिएको छ ।’

उनले सगरमाथा आरोहण गर्न आउनेहरूले फोटो खिचेर संसारमा नेपालको वेइज्जत गर्न चाहिँ सक्ने तर आफूले लगेको फोहोर नल्याउने गरेको उल्लेख गर्दै फोहोर ल्याउने बाध्यात्मक व्यवस्था गर्नु पर्ने बताइन् ।

आरोही तथा व्यवसायीले आरोहणका क्रममा मृत्यु हुने धेरै कारण हुने उल्लेख गर्दै त्यसमा सुरक्षा उपायहरू अपनाउन नसक्नु, अनुभवको कमी हुनु, जसरी भए पनि आरोहण गर्ने हठ लिनुलगायत रहेको बताएका छन् ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले कार्यक्रममा आएका सुझावहरु मनन योग्य रहेको र त्यसको कार्यान्वयनको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका स‌ंघका अध्यक्ष सन्तवीर लामाले आएका सुझावहरुलाई स‌ंकलन गरेर सरकारलाई बुझाइने बताए । साथै सगरमाथा आरोहणमा देखिएका समस्याहरुको समाधानमा एक जुट हुनु पर्ने र सगरमाथा आरोहणमा ‘ट्राफिक जाम’ भएको होइन भन्ने विषयमा सबैको एउटै स्वर हुनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुस्:

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…