December 21, 2020

आकर्षक मिर्लुङकोट

  • गल गुरुङ (दिपु)

तनहुँ जिल्लाका पहाडी टाकुराहरूले आ-आफ्नै पहिचान, ऐतिहासिक महत्त्व र विशेषता बोकेका छन् । यस्तै ऐतिहासिक महत्त्व, पहिचान र विशेषता बोकेको एउटा पहाड हो, मिर्लुङ्गकोट । सदरमुकाम दमौलीबाट करिब ३० किलोमिटरको दुरी उत्तर पूर्वी क्षेत्रमा अवस्थित छ, मिर्लुङ्गकोट । समुन्द्री सतहबाट करिब १६५४ मिटर उचाइमा रहेको मिर्लुङकोट जिल्लाको दोस्रो अग्लो पहाड हो ।

यसको दक्षिणतर्फ हरेपहरो भन्ने ठुलो पहरो छ। टाढैबाट हेर्दा पनि त्यो पहरोको ढुङ्गा तामा जस्तो देखिन्छ र यो पहाडमा तामा खानी भएकाले यस्तो देखिएको स्थानीय बासिन्दा बुझाइ छ । पहरामा पुग्न कठिन भए पनि त्यहाँबाट खसेका ससाना ढुङ्गाहरू तामा जस्तै देखिन्छ । केही वर्ष पहिले खानीविद्हरूले साधारण सर्वेक्षण गरी तामा खानी हुन सक्ने तर यसको सम्भाव्यताको विस्तृत अध्ययन हुनुपर्ने बताएका थिए । तर खानी तथा भूगर्भ विभाग तथा अन्य सरोकारवाला निकायले यस विषयमा चासो नदेखाएकाले थप अध्ययन हुन सकेको छैन ।

यो पहरोको बीचमा एउटा ठुलो ढुङ्गा बाहिरा निस्किएको छ। स्थानीय यस ढुङ्गालाई चुचुरो ढुङ्गा भन्छन् । हिउँदको समयमा असिना पानी पर्दा गोठालाहरू यही ढुङ्गा मुनि ओत बस्ने गर्छन् । यही ढुङ्गाको फेदमा एउटा ठुलो प्वाल पनि छ । स्थानीय बुढा पाकाको भनाई अनुसार २२/२४ राज्यको पालामा लडाइ हुँदाको तोपको गोलीले बनाएको प्वाल हो ।

लेखक ।

हरेपहरोको नामले पनि चिनिने मिर्लुङ्गकोटको शिरमा चौतारो छ । चौतारो सँगै एउटा पोखरी छ । स्थानीयले अहिले यसलाई मर्मत सुधार गरी राम्रो बनाएका छन् । २२/२४ राज्यको पालामा रानीले खन्न लगाएकाले यो पोखरीको नाम रानीपोखरी रहन गएको भनाई छ ।

यस्तै, डाँडाको उत्तरतर्फ मिर्लुङ भयर नामका देवताको मन्दिर छ । यो मन्दिरमा भाकल गरेर पूजा गरेपछि आफ्नो मनले चिताएको पुग्छ भन्ने जनविश्वास छ । एकादशी, औँसी तिथि र श्रावण महिना बाहेक हरेक मङ्गलवार यो मन्दिरमा पूजा गर्ने प्रचलन छ । यो मन्दिरलाई सात सय मिर्लुङ्गबासीले पुज्ने भयरथान पनि भन्ने गरिन्छ । चारैतिरबाट प्लास्टर गरी पर्खाल लगाइएको छ भने मन्दिरमा छानो हालिएको छैन । मन्दिरमा छानो हाल्नु हुँदैन भन्ने मान्यता छ । अर्को यो मन्दिरमा पूजा गरेको प्रसाद मादक पदार्थसँग खान हुँदैन भन्ने प्रचलन पनि छ । त्यस्तो गरिएमा अझै पनि त्यो दिन ठुलो असिना पानी पर्ने स्थानीय बासिन्दाहरू बताउँछन् ।

यो मन्दिरमा साबिक मिर्लुङ्ग गाविस (हाल भानु नगरपालिकाको वडा नं. १३ र १२) तथा अन्य स्थानबाट वार्षिक रूपमा सबै गाउँलेहरूले सामूहिक रूपमा पूजा गर्ने प्रचलन पनि छ । बोका, परेवा, पाडोलगायतको पशु बलीसहित पञ्च वली दिने पनि गरिन्छ । यस मन्दिरमा पूजा गरेको प्रसाद मन्दिर परिसर क्षेत्रमै पकाएर खानुपर्ने, अन्यत्र लग्न नहुने मान्यता भए पनि पछिल्लो समय भने घर घरमा लग्न पनि थालिएको छ।

मिर्लुङकोट प्राकृतिक दृश्यावलोकनका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्यका रूपमा पनि लिन सकिन्छ । जिल्लाको दोस्रो अग्लो डाँडो भए पनि तनहुँमा यही डाँडो नै अग्लो हो कि भन्ने यहाँ पुग्ने जो कोहीले पनि अनुभूति गर्न सक्छन् । नाउदी, रिस्ती, कलेस्ती र चुदीका उर्वर फाँटहरूलाई काखमा च्यापेर बसेको अति नै रमणीय पहाडको शृङ्खला हो, मिर्लुङकोट । यो डाँडोलाई ग्रामीण पर्यटनका साथै प्राकृतिक दृश्यावलोकनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले स्थानीय बासिन्दालाई खोक्रा आश्वासन र चुनावी नारा बनाउने गरे पनि यथोचित विकास भने हुन सकेको छैन ।

भानु नगरपालिकाको शिरको रूपमा ठडिएको मिर्लुङकोटको आवश्यक पूर्वाधारको विकास गरी प्रचार प्रसार गर्न सके नगरपालिकाको मुख्य आम्दानीको श्रोत पनि बन्न सक्ने सम्भावना रहेको छ । तर, यसतर्फ सरोकारवाला निकायले भने ध्यान पुर्‍याउन अझै सकेका छैनन् । पछिल्लो समय स्थानीय युवाहरूको सक्रियतामा भ्यु टावर, बौद्ध स्तूप, क्होईवो बनाउने योजनामा लागेका छन् भने स्थानीयको योजनालाई स्थानीय सरकार भानु नगरपालिका तथा अन्य सरोकारवाला निकायले के कसरी साथ र सहयोग गर्छ त्यो भोलिका दिनमा पक्कै पनि देख्न पाइने छ।

ऐतिहासिक महत्त्व, प्राकृतिक सुन्दरताले यस क्षेत्रको पहिचानको रूपमा ठडिएको मिर्लुङ्गकोट विकास र प्रचार प्रसारको खोजी गर्दै प्राकृतिक सौन्दर्य अवलोकन तथा ग्रामीण पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास हुने पर्खाइमा छ। चारैतिर हरिया पहाड, वन, जङ्गल, चिसो पानीका श्रोत, चराचुरुङ्गी, वन्यजन्तु अवलोकन मिर्लुङकोट क्षेत्रको विशेषता हो । डाँडा र डाँडाको वरिपरि अझै पनि ऐतिहासिक महत्त्व बोकेका प्रशस्तै भग्नावशेष फेला पार्न सकिन्छ ।

नेपाल अधिराज्यमा तनहुँ नामक पुस्तकका अनुसार यस कोट्मा सेन वंशले शासन गरेका थिए । तनहुँसुर राज्यसँगै यहाँ पनि सेन बंसले शासन गर्न थालेका थिए । मिर्लुङकोट राज्यको सिमाना पूर्वमा गोर्खा राज्य, उत्तरमा लमजुङ, दक्षिणमा तनहुँसुर र पश्चिममा रिसिङ राज्यहरू थिए। राजा दिग्विजय सेनले यो डाँडोमा आक्रमण गरी कब्जा गरेपछि यस राज्यको अस्तित्व समाप्त भएको थियो।

मिर्लुङ्गकोट पछिल्लो समय पिकनिक/वनभोज खाने स्थलको रूपमा पनि विकास हुँदै गएको छ। यस भेगका विद्यार्थी लगायत वरपरका गाउँलेहरू प्राकृतिक सौन्दर्य अवलोकनका अतिरिक्त वनभोजका लागि पनि मिर्लुङ्गकोट उक्लनेको गर्दछन् । वातावरण अनुकूल भएको समयमा मिर्लुङ्गकोटबाट उत्तर तर्फ दन्त लहर जस्तै लहरै मिलेर बसेका माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी हिमशृङ्खलाका साथै लमजुङ हिमाल, गोरखा हिमाल साथै थानकोटको उकालोसम्म देख्न सकिन्छ।

यहाँका वन जङ्गलमा मौसम अनुसारका फलफूलहरू जस्तै लालिगुरास, लालुपाते, काफल, कटुस, तिन्दु, पानी अमला, रुद्राक्ष, चुत्रोलगायतका जडीबुटीहरू पनि आफैले टिपेर खान सकिन्छ। त्यस्तै, मिर्लुङकोटबाट दक्षिणतर्फ एकले अर्कोलाई कुनै प्रकारको छेकबार नगरी ठडिएको हरिया पहाडको तरेलीका साथमा यिनै पहाडको खोचमा रहेका उर्वर भूमिका फाँट, मर्स्याङदी र मादी नदीका मनमोहक दृश्य सहजै अवलोकन गर्न सकिन्छ । उदाउँदो र अस्ताउँदो सूर्य र उत्तरतर्फ पसारिएका हिमशृङ्खलामा उदाउँदो र अस्ताउँदो सूर्यका किरणको दृश्यले सबैलाई मोहनी लगाउने गर्छ ।

मिर्लुङ्गकोट क्षेत्रको माथिल्लो खण्डमा गुरुङ समुदायको बसोबास रहेको छ । यहाँ गुरुङ समुदायको भाषा, संस्कृति, रीतिरिवाज, परम्पराको अवलोकनका साथै खानाका परिकारको स्वाद लिन पाइन्छ । उच्च पहाडी भू धरातल भएका कारण हिउँदको केही समय खानेपानीको समस्या यस क्षेत्रमा रहेको छ । स्थानीय रयाले गाउँ युवा क्लबका युवयुवतीहरुको पहलमा मिर्लुङकोटसम्म सहज रूपमा पैदल यात्रा गर्नका लागि बाघको खोरदेखि कोटसम्म सिँढी निर्माण गरिएको छ ।

पछिल्लो समय मिर्लुङकोटमा आन्तरिक पर्यटकहरू क्याम्प नै खडा गरी बस्ने पनि गरेका छन् भने पर्यटक पथप्रदर्शकहरुले समय समयमा बाह्य पर्यटकहरूलाई पनि पुर्‍याउन थालेका छन् । मिर्लुङकोटमा स्थानीय गुरुङ समुदायका युवायुवतीको सक्रियतामा श्रावण महिनाको पहिलो दिन नासपती मेलाको आयोजना गरी सांस्कृतिक कार्यक्रम समेत गर्दै आएका छन् । सरोकारवाला निकायले यस क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणलगायत स्थानीय कला संस्कृतिको संरक्षण गर्दै प्रचार प्रसार अगाडि बढाउन सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यको रूपमा विकास हुने प्रतीक्षामा मिर्लुङकोट बसेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…