लोकप्रिय बन्दै देउढुंगा यात्रा
- शब्द तथा तस्बिरः जीवन लामा
उत्तरी दोलखाको देउढुंगा क्षेत्र घुम्न जाने युवाहरुको संख्यामा वृद्धि भएको छ । सदरमुकाम चरिकोटबाट एकदिन गाडी र एकदिन हिडेपछि पुग्न सकिन्छ देउढुंगा । हिउद होस या वर्षायाममा यस क्षेत्रमा घुम्न जानेहरु धेरै भेटिन्छन् । प्राकृतिक सुन्दरताले भरिएको यस मन्दिरमा दर्शन गर्न र सेल्फी खिच्नको लागि युवाहरुको आकर्षण बढेको देखिन्छ ।
हिन्दु र बौद्ध धर्मलम्बी दुवैको धार्मिक आस्थाको केन्द्र भएकाले पनि भक्तजनको घुईचो देखिन्छ । यहाँ महादेवको दर्शन गर्नाले चिताएको पूरा हुने धार्मिक विश्वास छ । एकै मन्दिरमा व्रम्हा, विष्णु, महेश्वर, शिव, सरस्वती, लक्ष्मी, महादेवलगायतको दर्शन गर्न पाईने भएकाले भक्तजनहरु विश्वासकासाथ पुग्ने गर्छन ।
अग्लो ढुंगाको टाकुरा छ । तल भूँईमा खुला मैदान छ । यस मैदानबाट जसले डबली पैसा माथि ढुंगाको टुप्पोमा फालेर पुर्याउन सक्छ, उनैको चिताएको प्राप्त हुने विश्वास गरिन्छ । किसानहरु गोठबाट गाई, भैसी, बाख्रा पाठाहरु र सन्तानको माग गर्दै पुग्ने गर्छन् । घरबाट दाम्लो, कोक्रो बोकेर मन्दिरसम्मै बोलाउदै बोलाउदै, माग्दै माग्दै पुग्ने गर्छन् भक्तजनहरु । मागेको वर प्राप्त भएपछि पुनः चिताएको प्राप्त भयो भन्दै खुशी हुँदै भगवानलाई धन्यवाद व्यक्त गर्न पुग्ने गर्छन् । दैवी शक्तिकै कारण विक्रम सम्वत् १९९० र २०७२ सालमा गएको ठूला ठूला भूकम्पमा पनि यो ढुंगाको टाकुरा नभत्किएको जनविश्वास छ ।
यस क्षेत्र वरिपरी डाँडाकाँडा र घनाजंगलले घेरिएको छ । सुनसान मैदानमा एक्लै ठिङ्ग ठडिएको छ देउढुंगा । यसको दर्शन गर्न बिहान सबेरै टसिगच्छल गुम्बा विगुबाट ठाडो उकालो हिड्नुपर्छ । लगभग ६ घण्टाको यात्रापछि मात्र दर्शन भेट गर्न पाईन्छ देउढुंगाको । विश्वासीहरु उकालोमा देउता आफैले तानेको भान हुन्छ भन्छन् । जसले गर्दा जस्तोसुकै कठिन उकालोमा पनि सहजता महशुस हुने उनीहरुको भनाई छ । अहिले दुई किलोमिटर जत्ति वडा कार्यालयले सिढी बनाएको छ । ठाउँ ठाउँमा चौतारो निर्माण गरिएको छ। नयाँ नयाँ प्रजातिका फूलहरुले मन लोभ्याउछ । झरना, खोला नालाले झनै मन फुरुङ्ग बनाउँछ । चराचुरुङ्गीको चिरबिर चिरबिर धुनले थकाई मेटाउछ । दोलखाको अधिकांश भूभाग मज्जाले नियाल्न सकिन्छ यहाँबाट । विभिन्न हिमश्रृङ्खलाहरु नियाल्दा नियाल्दै बाटो कटेको पत्तै हुँदैन । यही सुन्दरता र आकर्षणले गर्दा नै सबैको गन्तव्य बन्न पुगेको छ, देउढुंगा । आन्तरिक तथा बाह्य पर्यटकको लागि सजिलो र नजिकको गन्तव्य बनेको छ देउढुंगा । यहाँ नपुगेका दोलखालीहरु सायद विरलै होलान । धार्मिक तथा प्राकृतिक सुन्दरताकै कारण पनि यहाँको यात्रा तय गर्न चाहन्छन् धेरैले ।
प्राय पर्यटकहरु आउँदा र जाँदा दुई रात विगुमा विताउँछन् । विगुमा गौरीशंकर संरक्षण क्षेत्रले घरबास (होमस्टे) को व्यवस्था गरेको छ । करिव एक सय जना जत्ति सहज तरिकाले अट्ने व्यवस्था छ । अधिकांश शेर्पा जातिको बस्ती छ यहाँ । विगुसम्मै गाडीमा पुग्न सकिन्छ । नजिकै पुरानो गुम्बा छ । जुन नेपालकै पहिलो आनी पढाउने गुम्बाको रुपमा परिचित छ । अहिले पनि ८५ जना आनीहरु छन् यहाँ । भूकम्पपछि भर्खर नयाँ भवनहरु निर्माण हुने क्रममा छ । यहाँ प्राय आलु, मकै, कोदो उत्पादन हुन्छ । यहाँ पुग्ने पर्यटकलाई स्थानीय उत्पादन नै खुवाउने गर्छन । पाहुनालाई स्वागत गर्ने स्थानीयको आफ्नै तरिका छ । पाहुनालाई शेर्पा संस्कृति अनुसार बेलुकी स्यार्बु नाच प्रदर्शन गरिन्छ । जसले गर्दा गुम्बाको दर्शन गर्न पुगेका पाहुना र देउढुंगा घुम्न जाने पाहुनाहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । युवादेखि ज्येष्ठ नागरिकहरु समेत घुम्नको लागि दुवै स्थान पुग्ने गर्छन् । कतिपय चौरीको दूध, छुर्पी, घीउ खानको लागि समेत यस क्षेत्रमा जाने गर्छन ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …