जुगलको चुचुरामा स्वर्ग पुगे जस्तै अनुभूति भयो : आरोही माया गुरुङ
काठमाडौँ । जुगल हिमाल (ग्याल्चेन पीक) को पहिलो पटक आरोहण गरेकी आरोही माया गुरुङले स्वर्ग पुगे जस्तै अनुभूति भएको बताएकी छिन् ।
‘स्थानीयले स्वर्ग जस्तै छ भन्थे, हो रहेछ, मलाई पनि त्यस्तै अनुभूति भयो’ उनले ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा भनिन् ।
उनले आरोहणका क्रममा रुखका हाँगा, ढुङ्गाहरूमा छुट्टा छुटै आकृति देखेको पनि बताइन् ।
‘मैले सगरमाथा लगायत अन्य हिमाल आरोहण गरिसकेको छु । तर जुगल हिमाल आरोहणका क्रममा छुट्टै खालको अनुभन भयो’ उनले भनिन् ।
राजधानीबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल (ग्याल्चेन पीक) लाई प्रवर्द्धन गर्न सकिने पनि सरोकारवालाले बताएका छन् ।
सगरमाथा आरोही गुरुङको नेतृत्वमा ६ हजार १ सय ५१ मिटर उचाइ रहेको जुगल हिमालको गत चैत २६ गते पहिलो पटक आरोहण गरिएको थियो ।
काठमाडौँबाट हिँडेको १२औैँ दिनमा उक्त पीकको आरोहण गरिएको आरोहण दलकी संयोजक गुरुङले जानकारी दिइन् ।
गुरुङका साथै मिलन तामाङ र शर्मिला थापाले आरोहण गरेका थिए । तीन आरोहीका साथमा गाइडहरू तुलसिंह गुरुङ, नरबहादुर अस्थायी, आसबहादुर गुरुङ र समीर गुरुङ गरी सात जनाले आरोहण गरेका थिए ।
गुरुङले काठमाडौँबाट नजिकै रहेको भर्जिन हिमाल आरोहणमा कसैले चासो नदेखाएपछि आफैले नेतृत्व गरेर आरोहण गरेको समेत उनले बताइन् ।
सरकारले सन् २०१४ मा जुगल हिमाल आरोहण खुल्ला गरे पनि चैतअघिसम्म कसैले पनि पर्यटन विभागबाट आरोहण अनुमति लिएका थिएनन् । आरोहण खुल्ला गरेको करिब ५ वर्षपछि गुरुङको नेतृत्वमा पहिलो पटक आरोहण गरिएको हो ।
सिन्धुपाल्चोक जिल्लामा रहेको जुगल र लाङटाङ हिमश्रृंखलामा ६ हजार मिटरभन्दा माथिका करिब २६ ओटा हिमाल रहेका छन् । जुगल हिमश्रृंखलामा मात्रै ११ ओटा हिमालहरू रहेका छन् । ती हिमालहरूमध्ये केही हिमालको अझै आरोहण खुल्ला गरिएको छैन ।
सङ्घीय राजधानी काठमाडौँबाट १ सय ४५ किलोमिटर दुरीमा उक्त हिमाल पर्दछ ।
प्रदेश ३ सरकार अन्तर्गतको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाले संयुक्त रूपमा आरोहण तथा अध्ययनका लागि सहयोग गरेको थियो ।
पीक आरोहण तथा अध्ययनका लागि प्रदेश सरकारले सिन्धु पर्यटन परिषद्लाई ४० लाख अनुदान सहयोग गरेको थियो भने अन्य विभिन्न निकायबाट ५४ लाख रुपैयाँ सङ्कलन भएकोमा ४८ लाख खर्च भएको गुरुङले जानकारी दिइन् ।
प्रदेश ३ का साँसद निमा लामाले काठमाडौँबाट नजिकै रहेको पीकको प्रचारप्रसार भएमा पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताए । नेपाल सरकारले सगरमाथा आरोहणका लागि ६ हजार मिटर भन्दा माथिको हिमशृंखला आरोहण गरेको हुनुपर्ने भनेकोमा जुगल पीक आरोहण गरेर त्यो नियम पुरा गर्न सक्ने बताइएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…